काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले बैठक बोलाएको छ।
सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै आफू पक्षका नेताको मन्त्री पद खुस्किएपछि ठाकुर पक्षले रणनीति तय गर्न बैठक डाकेको हो।
दिउँसो १ बजे बबरमहलमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागिएको नेता शरदसिंह भण्डारीले जानकारी दिए। सर्वोच्चको अन्तरिम आदेशपछि अब अगाडि कसरी बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ।
सर्वोच्चको अन्तरिम आदेशपछि जसपाका २ राज्यमन्त्री र ९ जना मन्त्रीको पद गएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब कसरी सहकार्य गर्ने र पार्टीको आन्तरिक विवाद कसरी समाधान गर्ने भन्ने विषयमा आज छलफल हुने बताइएको छ।
अध्यक्ष ठाकुर र यादवले एकअर्कालाई कारबाहीसमेत गरेका थिए। तर, निर्वाचन आयोगले ठाकुर र यादव दुबै पक्षको कारबाहीलाई कार्यान्वयनमा ल्याएको छैन।