कैलाली- नेपाल रेडक्रस सोसाइटी कैलालीले जिल्लाका विभिन्न विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको छ।
जीआईजेडको साझेदारीमा रेडक्रस कैलालीद्वारा सञ्चालित कोभिड १९ प्रतिकार्य एवं पूर्व तयारी कार्यक्रममार्फत जिल्लाका १० विद्यालयमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको कार्यक्रम अधिकृत अशोक सिंहले बताए।
रेडक्रसले धनगढी उपमहानगरपालिकाका त्रिनगर उच्च मावि, धनगढी नमुना मावि, जनता मावि, भानु मावि र फूलवारी माविमा स्वास्थ्य सामग्री वितरण गरेको हो।
त्यस्तै गोदावरी नगरपालिकामा रहेका दुर्गालक्ष्मी मावि, सरस्वती मावि, ग्वाँसी मावि, शैलेश्वरी मावि र सिद्धबाबा माविमा स्वास्थ्य सामग्री वितरण गरेको हो।
कोरोना महामारीमा सचेतना तथा सरसफाईका लागि सघाउ पुर्याउने उद्देश्यले उक्त स्वास्थ्य सामग्री वितरण गरिएको रेडक्रस कैलालीका सभापति उत्तम जोशीले जानकारी दिए।
दुई नगरपालिकाका १० विद्यालयलाई प्रति स्कुल दुई हजार मास्क, २५० लिटर क्लोरिन, १३ सेट पीपीई, ४८० साबुन, सेनिटाइजर, बुट, झाडु, सोडा, बाल्टिन, ग्लोब्सलगायत सरसफाईका सामग्री हस्तान्तरण गरिएको फिल्ड को–अर्डिनेटर शर्मिला कार्कीले बताइन्।
उक्त सामग्रीले विद्यालयमा जनचेतना तथा सरसफाईमा सघाउन पुग्ने कार्कीले बताइन्। विपद्को बेला विद्यालयलाई गरिएको सहयोगले शिक्षक तथा विद्यालय व्यवस्थापनले रेडक्रस र साझेदारी संस्था जीआईजेडप्रति कृतज्ञता व्यक्त गरेका छन्।