काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले संस्थापन पक्षको एकलौटी हुने गरी बनाइएको क्रियाशील छानबिन मापदण्ड अस्वीकार गर्ने भएको छ।
महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा आज (बुधबार) बसेको पौडेल समूहको बैठकले मापदण्ड अस्वीकार गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी एक नेताका अनुसार संस्थापन पक्षले मनपरी ढंगले सदस्यता वितरण गरेकाले समस्या सिर्जना भएको हो।
बैठकमा रमेश लेखक नेतृत्वको क्रियाशील छानबिन समितिका सदस्यहरु कल्याण गुरुङ, जीवन परियार र प्रदीप पौडेलले समितिका समस्याबारे बिफ्रिङ गरेका थिए। ‘मापदण्डअनुसार सदस्यता वितरण भएको छैन, महाधिवेशन आफूअनुकुल बनाउन संस्थापन पक्षले मनपरी ढंगले योग्यता नपुगेकाहरुलाई पनि सदस्यता वितरण गरेको छ’, एक नेताले भने ‘हामीले शीर्ष नेताहरुलाई सोही कुरा राख्याैं, उहाँहरुले मापदण्डमा कडाइ गर्न भन्नुभयो।’
बैठकलाई ब्रिफ्रिङ गर्दै क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरुले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलई सदस्यता वितरण गर्दा संस्थापन पक्षबाट चरम दुरुपयोग भएको बताएका थिए। तल्ला तहमा फारम पठाउँदै मनपरी भएको भन्दै उनीहरुले लोकतान्त्रिक फोरम, राप्रपालगायत अन्य पार्टी परित्याग गरेकाहरुलाई सदस्यता वितरण गर्दा संस्थापन पक्षले फाइदा लुटेको जानकारी गराए।
बैठकमा सहभागी क्रियाशील छानबिन समिति सदस्य कल्याण गुरुङले पार्टीको निष्पक्ष महाधिवेशन गराउनका निम्ति क्रियाशील सदस्यताको मापदण्डको विषयमा छलफल भएको जानकारी दिए।
यसैबीच वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निटक केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन्। १४औं महाधिवेशनका बारेमा छलफल गर्न पौडेलले आफूनिटक केन्द्रीय सदस्यहरुलाई डाकेका हुन्। भेला दियालो पार्टी प्यालेसमा बिहीबार २ बजे बोलाइएको छ।