काठमाडाैं- अनेकन् घटना र काण्डका कारण विवादमा मुछिएका कथित सामाजिक अभियन्तामाथि प्रहरीले निगरानी बढाएको छ। उजुरी परेकालाई तत्काल पक्राउ गरेर कारबाही थालेको प्रहरीले उजुरी नपरेका स्वघोषित अभियन्तामाथि पनि निगरानी थालेको हो।
आफूलाई समाजसेवी भन्ने ज्वाला संग्रौला (टीका संग्रौला) सहित तीन जनालाई आइतबार महानगरीय प्रहरी परिसर टेकुले पक्राउ गर्यो। सोमबार जिल्ला प्रशासन कार्यालयबाट तीन दिन म्याद थप गरेर उनी, उनका पति हिमाल उपाध्याय र शर्मिला वाइबामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
युवा संघकी नेतृ खुश्बु (नविता) घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरु पक्राउ परेका हुन्। घिमिरेले संग्रौलालाई कुटपिट गरेको एक महिनाअघि प्रहरी वृत्त गौशालामा पेस गरेको जाहेरीमा उल्लेख छ। फेसबुकमा एकअर्काप्रति गरेको टिप्पणीबारे छलफल गर्न महानगरीय प्रहरी वृत्त गौशालामा जाँदा जेठ १६ गते ज्वालाले आफूमाथि कुटपिट गरेको घिमिरेको दाबी छ।
घटना जेठ १६ मा भए पनि घिमिरेले कतै उजुरबाजुर गरेकी थिइनन्। ज्वालाले प्रहरीलाई रंगभेदी प्रतिक्रिया दिएर विवादमा आएपछि घिमिरेले घटना सार्वजनिक गर्दै जाहेरी दिएकी थिइन्। यसअघि महाराजगन्ज प्रहरीका असई मणिकान्त झालाई रंगभेदी अभिव्यक्ति दिएर दुर्व्यवहार गरेको आरोप पनि ज्वालामाथि थियो।
ज्वाला आफूलाई मन नपरेका व्यक्ति र आलोचकमाथि छुद्र टिप्पणी गर्न सिपालु छिन्। फेसबुकमै गरेको गालीगलौजका विषयमा उनी र विभिन्न व्यक्तिबीच विवाद परिरहन्छ। यस्ता विवाद प्रहरीसमक्ष पनि पुग्ने गरेका छन्।
ज्वाला प्रहरी हिरासतमा पहिलो पटक परे पनि उनी पटकपटक विवादमा आइरहन्छिन्। कहिले सरकारी कार्यालयमा छापा हान्न गएका कारण त कहिले सामाजिक सञ्जालमा अनेकन् टिप्पणी गरेका कारण। लामो समय जापान बसेर करिब १ वर्षअगाडि फकिर्एकी उनी आफूलाई मन नपरेका व्यक्ति र आलोचकमाथि छुद्र टिप्पणी गर्न सिपालु छिन्। फेसबुकमै गरेको गालीगलौजका विषयमा उनी र विभिन्न व्यक्तिबीच विवाद परिरहन्छ। यस्ता विवाद प्रहरीसमक्ष पनि पुग्ने गरेका छन्।
उनले जापानमा रहेका बेला नेपालमा टेलिभिजन प्रस्तोता रवि लामिछानेका लागि सहयोग जुटाउने काम गर्दै आएकी थिइन्। नेपाल आएपछि पनि उनी लामिछानेको विभिन्न अभियानमा चन्दा उठाएर सघाउन सक्रिय रहेको देखिन्छ। हालैमात्र बालाजुस्थित जनमैत्री अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि लामिछानेको अगुवाइमा व्यवस्था मिलाएको भन्दै उनले प्रचार गरेकी थिइन्।
ज्ञानबहादुर शाहीको हिरासत यात्रामा ह्याट्रिक
ज्वाला मात्रै होइन, आफूलाई सामाजिक अभियन्ता भएको दाबी गर्ने ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही) पनि पटकपटक विवाद आउने गरेका छन्। उनी तीन पटक त प्रहरी हिरासतमै पुगिसकेका छन्। २०७६ जेठमा पत्रकारलाई जथाभावी गालीगलौज गरेको आरोपमा उनी सुर्खेतबाट पहिलो पटक पक्राउ परेका थिए।
भ्रष्टाचारविरोधी आन्दोलनका कार्यक्रम लिएर वीरेन्द्रनगर पुगेका उनी पत्रकारलाई अपशब्द बोलेको आरोपमा पक्राउ परेका थिए। आफ्नो कार्यक्रममा कोही पनि पत्रकार सहभागी नभएको भन्दै उनले सुर्खेतका पत्रकारलाई गाली गर्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए। त्यसपछि शाहीविरुद्ध नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाले साइबर क्राइमअन्तर्गत प्रहरीमा उजुरी दिएको थियो ।
आफूलाई कसैले केही गर्न नसक्ने भन्दै दम्भ प्रदर्शन गर्ने ज्ञानबहादुर विभिन्न सरकारी अड्डामा 'छापा' मार्दै आएका छन्। कर्मचारीको हुर्मत लिन खोजेको आरोपमा उनी २०७६ भदौ २९ मा ललितपुरबाट पक्राउ परेका थिए। पुलचोकमा उनले पत्रकार सम्मेलन गर्दा विद्यार्थी नेताहरूले अवरोध गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। केही समयपछि उनी रिहा भएका थिए।
यस्तै उनी २०७७ वैशाख ९ मा पनि ललितपुर प्रहरीको हिरासतमा पुगेका थिए। उनी लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ परेका थिए। शाही पछिल्लोपटक सुर्खेतमा मदिरा सेवन गरेर कुटपिट गरेको घटना र चेक बाउन्सको विवादमा तानिएका छन्।
राहत बाँड्न भन्दै वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा रातको ११ बजे पुगेका शाहीको समूहले स्थानीय मजदुरसँग झगडा गरेको थियो। प्रहरीका अनुसार दुवै पक्षले मदिरा सेवन गरेर एकअर्कामाथि आक्रमण गरेका थिए। राहत बाँड्न भन्दै रातको ११ बजे पुगेका उनीहरुले वितण्डा मच्चाएको स्थानीयको आरोप छ।
शाहीले कालिमाटीका खाद्यान्न व्यापारी अरविन्द अग्रहरीसँग २०७५ सालमा लिएको ८ सय ४० बोरा चामलको पैसा अझै नदिएको पाइएको छ। उनले ती व्यापारीलाई २०७५ मंसिर ४ गतेको पुष्कर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६ लाख ४१ हजारको चेक दिएका थिए। तर, उक्त सहकारीमा उनको पैसा नै नभएको पाइएको छ।
शाही आर्थिक लेनदेनमा पनि विवादमा तानिएका छन्। उनले कालिमाटीका खाद्यान्न व्यापारी अरविन्द अग्रहरीसँग २०७५ सालमा लिएको ८ सय ४० बोरा चामलको पैसा अझै नदिएको पाइएको छ। उनले ती व्यापारीलाई २०७५ मंसिर ४ गतेको पुष्कर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६ लाख ४१ हजारको चेक दिएका थिए। तर, उक्त सहकारीमा उनको पैसा नै नभएको पाइएको छ।
शाहीले एभरेस्ट बैंकको १ लाख २८ हजार ५ सय रुपैयाँको मिति उल्लेख नगरिएको चेक काटेका थिए। उक्त चेक पनि बाउन्स भएको छ। उनी अरूलाई अभद्र व्यवहार गर्ने गरेका कारण विवादमा आउने गरेका छन्। प्रमाण सार्वजनिक नगरी भ्रष्टाचार भएको भन्दै भरतपुर महानगरकी मेयर रेणु दाहाल लगायतको नाम सार्वजनिक गरेपछि पनि शाही विवादमा आएका थिए। तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईका कारण प्लेन ढिला भएको भन्दै उनले प्लेनभित्रै भट्टराईमाथि समेत अशोभनीय व्यवहार गरेका थिए।
युट्युबरहरु अघिपछि लगाएर हिँड्ने उनी पत्रकारलाई भने गाली गरिरहेका हुन्छन्।
विनयजंग बस्नेत, पुण्य गौतम र हेमराज थापा पनि विवादमा
प्रहरी हिरासतमा पुग्ने अर्का सामाजिक अभियन्ता हुन् विजयजंग बस्नेत। बेवारिसे शव उठाएर जलाउन सक्रिय उनी आफ्नै चेली सपना मगरमाथि अभद्र टिप्पणी गर्दा महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा पुगेका थिए। मगरको नग्न तस्बिर सार्वजनिक गर्ने धम्की दिएको आरोपमा उनी पक्राउ परेका थिए।
आफूलाई सामाजिक अभियन्ता भन्ने पुण्य गौतम र हेमराज थापा पनि अधिक विवादमा आउने व्यक्ति हुन्। सामाजिक सञ्जाल र युटुबमा घरायसी झगडादेखि राजनीतिक विषयसम्ममा जानी–नजानी टिप्पणी पनि गरिरहेका हुन्छन् उनीहरु।
गौतम एक पटक अरुलाई भनेर पठाएको सहयोग रकम अर्कालाई दिएको भनेर युट्युबर र उनको बीचमा घम्साघम्सी नै परेको थियो। सडकमा भएका विभिन्न प्रदर्शनदेखि खुल्लामञ्चमा भात बाँड्नसम्म उनी पुगेका हुन्छन्। अर्का स्वघोषित अभियन्ता हेमराज थापा चर्को स्वरमा सामाजिक सञ्जालतिर कराइरहेको देख्न पाइन्छ। उनले सरकारी कार्यालयमा गएर हाकिमलाई थर्काउने मात्र नभई कुर्सीबाटै गलहत्याएर बाहिर निकालिदिने सम्मको धम्की दिने गरेका छन्। २०७७ माघ १५ गते वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक कुमार दाहाललाई उनले कुर्सीबाटै थुत्ने धम्की दिएका थिए।
प्रहरीको सूक्ष्म निगरानी
स्वघोषित अभियन्ताको एकपछि अर्को गर्दै विवादित घटना सार्वजनिक हुन थालेपछि प्रहरीले उनीहरुमाथि सूक्ष्म निगरानी गर्न थालेको छ। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले कानुन हातमा लिएर कर्मचारी थर्काउने, व्यक्तिमाथि अभद्र व्यवहार गर्ने, गालीगलौज गर्ने, कुटपिटसम्ममा उत्रिने स्वघोषित अभियन्ता प्रहरीको विशेष निगरानीमा रहेको बताउँछन्।
‘केही व्यक्तिको भीड आफ्नो पक्षमा छ भनेर कानुन हातमा लिने काम स्वघोषित अभियन्ताबाट भएको पाइएको छ। हामी निगरानी र अनुसन्धान गरिरहेका छौं’, उनले भने।
एसएसपी कुवँरले आएका उजुरीमाथि विशेष रुपमा अनुसन्धान गर्ने र कारबाही प्रक्रिया अघि बढाउने गरिएको बताए। सामाजिक अभियन्ता भन्नेहरूले निकालेको विवादका कारण पक्षविपक्षमा माहोल खडा हुने र त्यसले थप समस्या निम्त्याउने भएकाले पनि विशेष निगरानी थालिएको प्रहरी अधिकारीहरु बताउँछन्। प्रहरीले केन्द्रदेखि गाउँ तहसम्म उनीहरुको गतिविधिमा विशेष ध्यान दिन निर्देश जारी गरेको छ। कुँवर भन्छन्, ‘राज्यका संयन्त्रलाई लत्याएर मैले नै कारबाही गर्ने हो जसरी दम्भ देखाएर हिँड्ने र युटुबरलाई प्रयोग गरेर दुनियाँलाई गाली गर्नेलाई हामी छाड्दैनौं।’