रुस- छनोट चरणमा इटालीलाई पछि पार्दै विश्वकप यात्रा तय गरेको स्वीडेन र एसियाली पावर हाउस मानिने दक्षिण कोरिया मैदान उत्रिएका छन् ।
‘समूह जी’को यो खेल निज्नि नोभोगोरोट रंगशालामा नेपाली समय अनुसार ५:४५ बजेदेखि शुरु भएको छ । सन् २००६ पछि पहिलो पटक विश्वकप खेल्न लागेको स्वीडेनमा अन्तर्राष्ट्रिय फुटबलका स्टार स्ट्राइकर जाल्टन इब्राहिमोभिच छैनन् । तर उनी बिनै पनि स्विडेनले राम्रो फुटबल खेलिरहेको विश्लेषकहरुले बताएका छन् ।
स्विडेन छनोट चरणमा दोस्रो भयो र प्लेअफमा इटालीलाई नकआउट गर्दै विश्वकपमा स्थान बनायो । समूहमा उसले फ्रान्सलाई पनि हराएको थियो ।
यस क्रममा स्विडेनका मार्कोस बर्गले आठ गोल गरेका थिए । उनले जाल्टनको अभाव महसुस हुन नदिएको विश्लेषकहरुको टिप्पणी छ । सन् १९५८ मा घरेलु भूमिमा आयोजना भएको विश्वकपमा उपविजेता बनेको स्विडेनले दुई संस्करणपछि रसियामा दक्षिण कोरियासँग प्रतिस्पर्धा गरेर विश्वकप यात्रा सुरु गर्नेछ ।
तर स्विडेनले पछिल्ला चार खेलमा एक गोल मात्र गर्न सकेको छ । ३ खेलमा गोल नै गर्न सकेन ।
दक्षिण कोरिया एशियाको फुटबल बादशाह हो । सन् २००२ मा घरेलु भूमिमा आयोजना भएको विश्वकपको सेमिफाइनल पुगेको कोरियाले सन् २०१० मा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । तर ब्राजिलमा भने उसले खासै प्रभाव जमाउन सकेन ।
टोटनह्यामका फरवार्ड सन ह्योङ–मिनको उपस्थितिले कोरियाली टिममा उर्जा थपेको छ । लगातार नवौं पटक विश्वकप खेल्दै गरेको कोरियाका लागि उनको प्रेरणा र बाँकी खेलाडीको जुझारुपनले सकारात्मक उर्जाको काम गर्नेछ । दक्षिण कोरियाली टिम स्वान्सी सिटीका पूर्व मिडफिल्डर कि सुङ येङको कप्तानीमा मैदान उत्रिनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४