काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने बताएका छन्।
बुधबार राजधानीमा सम्पन्न नेपाल बाल संगठन केन्द्रीय सभाको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। ‘खोपको अभाव क्रमशः सुल्झँदै गएको छ। सन् २०२१ भित्रै सबै नागरिकहरुलाई खोप लगाइने छ,’उनले भने,‘अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेरै गर्न सकिने छ।’
ओलीले बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँदै लैजान सकिए मात्र भोलिीदेशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउन सक्ने बताए।
बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनैपर्ने हक समेत नपाएको प्रधानमन्त्रीको भनाइ थियो।
‘विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिलेकाहीँ बाल मन्दिरजस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगे,’उनले भने,‘त्यस्ता संस्थाहरुले कहिलेकाहीँ संकीर्ण दायरामा आफूलाई प्रस्तुत गरे।’
त्यसकै परिणामस्वरुप नेपाली बालबालिका अभिभावकविहीन हुने र संरक्षण गर्ने कोही नहुने स्थितिमा समेत पुगेको उनको भनाइ छ।
‘कहीँ रित पुर्याएर त कहीँ गुपचुप ढंगले बालबालिकाको दुरुपयोग भयो। आगामी दिनमा यस्ता कुरालाई सम्पूर्ण रुपले रोक्नुपर्छ,’ उनले भने।