काठमाडौं- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै स्वभावका कारण आलोचना र विवादमा आइरहन्छन्। ‘झोक्की’ स्वभावका नेता देउवा कहिलेकाहीँ बोल्ने शैलीका कारण विवादमा तानिन्छन्, त कहिले शारीरिक हाउभावका कारण।
सार्वजनिक कार्यक्रममा देउवाको प्रस्तुति देख्ने जोकोहीलाई पनि उनको झोक्की स्वभावबारे बुझ्न सहयोग गर्छ। पटक–पटक विवादमा आउँदा समेत उनमा न आलोचना हुने डर देखिन्छ, न त त्यसको असरका बारेमा हेक्का नै। उनी आवेग र रिस पोख्न ठाउँ र समय कुर्दैनन्। के सार्वजनिक कार्यक्रम, के मिडिया! वा पार्टी बैठक नै किन नहोस्, आक्रोश पोखिहाल्छन्।
देउवाको लाइन विपरीत धारणा राख्ने नेताहरूले उनको झ्वाँकको सामना गरिसकेका छन्।
सार्वजनिक कार्यक्रममै पार्टीका नेता कार्यकर्तादेखि उनीमाथि प्रश्न उठाउनेसम्मलाई हप्काउनसमेत पछि पर्दैनन् देउवा। थुप्रै सार्वजनिक कार्यक्रममा नेता कार्यकर्ताले देउवाको हप्की खानुपरेको छ। देउवासँग लामो समयदेखि संगत गर्दै आएका नेताहरु भन्छन्, ‘व्यक्तिगत स्वभाव मान्छैपिच्छे फरक हुनु स्वाभाविकै हो। तर उहाँमा अलिक बढी नै झोक्की स्वभाव छ। तर हामीलाई उहाँको स्वाभाव पचिसकेको छ।’
000
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा समेत देउवा झोक्किए। विपक्षी गठबन्धन र गठबन्धनका नाममा जारी हुने विज्ञप्तिबारेमा नेता महेश आचार्यले प्रश्न उठाएपछि देउवा झोक्किएका थिए। ‘विपक्षी गठबन्धन बनाउनुभएको छ। पार्टीले निर्णय गर्न नभ्याउँदै विपक्षी गठबन्धनबाट वक्तव्य आउन थालेका छन्। पार्टीको भूमिका गौण भएजस्तो देखियो,’ आचार्यले यसो भन्न साथ देउवाले आक्रोश थाम्न सकेनन्। ‘पहिले माधवकुमार नेपाल र प्रचण्डसँग मिलेर सरकार बनाउन हुने, अहिले नहुने? गठबन्धन नै बनाउन हुन्थेन भने अदालत जानुअघि नै किन नभनेको?,’ आक्रोशित भावमा सभापति देउवाले जवाफ फर्काएका थिए।
केन्द्रीय समिति बैठकमा देउवाले नेताहरु बालिरहँदा हस्तक्षेप गरेर आक्रोश पोखेको यो नै पहिलो पटक भने होइन। यसअघि पनि देउवाको लाइन विपरीत धारणा राख्ने नेताहरूले देउवाको झ्वाँकको सामना गरिसकेका छन्।
000
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि एक महिनाभन्दा बढी कांग्रेस केन्द्रीय समिति बैठक चल्यो। विघटनको विरोधमा सडक आन्दोलन चर्काउने कि निर्वाचनमा जाने भन्नेबारे पार्टीभित्र स्पष्ट दुई धार देखिएको थियो।
निर्वाचनको पक्षमा धारणा राख्ने नेताहरूप्रति देउवा 'सफ्ट' देखिन्थे। आन्दोलनका पक्षमा धारणा राख्ने नेताहरुसँग भने देउवा पटक–पटक जंगिन्थे।
कांग्रेसले वडादेखि जिल्ला तहसम्मका विरोधका कार्यक्रम गरे पनि त्यसमा देउवाले ठूलो सक्रियता देखाएनन्। यस विषयमा पनि पार्टी बैठकमा नेताहरुबीच चर्काचर्की भएको थियो। निर्वाचनको पक्षमा धारणा राख्ने नेताहरूप्रति देउवा 'सफ्ट' देखिन्थे। आन्दोलनका पक्षमा धारणा राख्ने नेताहरुसँग भने देउवा पटक–पटक जंगिन्थे।
पुस ८ गतेको बैठकमा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की नै परेको थियो। पौडेलले त्यो दिन तत्कालै आन्दोलनका कार्यक्रम घोषणाा गरेर सडक तताउनुपर्ने धारणा राखेका थिए। पौडेलको प्रस्तावमा विमति राख्दै देउवाले झपार्ने शैलीमा भनेका थिए, ‘तपाईंले भन्नेबित्तिकै आन्दोलन हुन्छ? अदालतको आदेश कुर्नु पर्दैन?’ देउवा र पौडेलबीचको चर्काचर्कीमा दुवै पक्षका अन्य नेतासमेत विभाजित बनेका थिए।
000
सभापति देउवाले आन्दोलन नगर्ने बरु चुनावमा नै जाने पक्षमा सार्वजनिक रूपमा धारणा राखिरहेका थिए। उनको दलमा भने प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरी असंवैधानिक काम गरेकाले तत्काल हटाउन सडक आन्दोलन चर्काउनुपर्ने पक्षमा आवाज उठाउनेहरू थुप्रै थिए। पौडेलसँग पुस ८ गते चर्काचर्की परेको भोलिपल्टै पार्टीका पूर्वमहाममन्त्री प्रकाशमान सिंहसँग पुन चर्काचर्की पर्यो। पुस ९ को बैठकमा सिंहले विगतमा देउवाको असफलताकै कारण पार्टीले हार व्यहोर्नु परेको प्रसंग कोट्याएपछि देउवा आक्रोशित बनेका थिए।
‘कांग्रेसको नेतृत्व पनि असफल भयो। प्रतिपक्षमा पनि काम गर्न सकेन भन्ने छ। अब महाधिवेशन गरेर नेतृत्व फेरेर मात्रै जनतामा जानुपर्छ,’ सिंहले भनेका थिए। लगत्तै जवाफ फर्काएका देउवाले भने, ‘हिम्मत भए हटाए हुन्छ। महाधिवेशनबाट म भाग्नेवाला छैन। महाधिवेशन गरेर फेस गर्छु।
बैठकमा मात्रै होइन, सार्वजनिक कार्यक्रममै थर्काउँछन् देउवा
देउवा आक्रोश पोख्न एक निमेष पनि पर्खंदैनन्। पदीय मर्यादालाई समेत ख्याल गर्दैनन्। सार्वजनिक कार्यक्रममा सहभागीहरूमाथि पनि आक्रोश खन्याइदिन्छन् र आलोचित बन्छन्। बीबीसी साझा सवालको ५००औं शृंखलामा तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नै देउवा सहभागी भएका थिए। उक्त शृंखलामा एक युवाको प्रश्नमा झोक्किएर देउवाले भनेका थिए, 'तपाईं बढ्ता बोल्दै हुनुहुन्छ (भिडियो हेर्नुहोस्- २७ मिनेटदेखि २८ मिनेट १० सेकेन्डसम्म)।' देउवाको उक्त अभिव्यक्ति लामो समय भाइरल बनेको थियो।
000
२०७५ पुसमा भएको कांग्रेस महासमिति बैठकमा देउवाले सह-महामन्त्री डा. प्रकाशशरण महतलाई देउवाले मञ्चमा हप्काएका थिए। देउवाले भाषण गरिरहँदा कार्यकर्ताले ध्यान नदिएपछि उनले हल्ला नगर्न भनेका थिए। तर, नेताहरू भने गफमै व्यस्त भएपछि महतको नाम लिँदै भनेका थिए, ‘ओ प्रकाश महतजी! ओ प्रकाश महत! ओ प्रकाश महत! बस्नुहोस त्याँ।’ देउवाले यसरी नेताको नामै लिएर हल्ला नगर्न निर्देशन दिएपछि बैठकमा सहभागीहरूबीच हासोको फोहोरा छुटेको थियो।
000
देउवालाई मन नपरीनपरी प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसले सबै निकायले विरोध गर्ने निर्णय गरेको थियो। आफ्नै निवास रहेको प्रदेश निर्वाचन क्षेत्रको कार्यक्रममा देउवाले बूढानीलकण्ठमा भाषण गरे। ‘चुनाव भयो भने चुनावका लागि तयार हुनुपर्छ। चुनाव लड्नका लागि जनता ठूलो हो, सर्वोच्च अदालतभन्दा ठूलो अदालत जनता हो। त्यसैले चैने जनताबाट भाग्न हुँदैन।’
देउवा बोलिरहँदा कार्यक्रममा उपस्थित एक महिलाले ठूलै आवाजमा भनिन्, 'जनतामा गए पनि जितिँदैन। देशका लागि सोचौं।’
त्यसपछि देउवाले भने, ‘तपाईं पछि बोल्नुस्, सुन्नुस् न!’
त्यतिकैमा अर्का पुरुषले भने, ‘महाभारतमा भीष्मको रूपमा रहन हुँदैन के!’
देउवाले वास्ता गरेनन्। ती पुरुषले पुनः दोहोर्याए, ‘नेपाली महाभारतमा भीष्मको रूपमा नरहनुहोला है प्लिज।’
त्यसपछि देउवाले सोधे, ‘के रे?’
पुरुषले जवाफ फर्काए, ‘नेपाली महाभारतमा भीष्मको रूपमा नरहनुहोला के!’ त्यसपछि देउवा जंगिए, ‘दोहोरो कुरा गर्ने होइन के, दोहोरो कुरा गर्ने होइन। रक्सी खाए होलान्। दिउँसै रक्सी खाएर आउँछन्।’
000
पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा गत वर्ष असार १९ गते पार्टीको भातृसंगठन नेविसंघले शान्तिवाटिकामा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथि थिए देउवा। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय घेराउ गरेरेकाले हैरान भएका देउवाले सार्वजनिक कार्यक्रममा नै नेविसंघका नेताहरूलाई थर्काए।
नेविसंघका नेता कार्यकर्तालाई गाली गर्दै देउवाले भनेका थिए, ‘कहाँ छ नेविसंघ? गाउँमा छ? स्कुलहरूमा छ? गाउँमा देखिँदैन। म नेविसंघ सभापति भएँ। चार पटक प्रधानमन्त्री भइसकेँ। यस्तै हिसाबले तपाईँहरू कोही चार पटक प्रधानमन्त्री हुन सक्नुहुन्छ? लाज पनि छैन यार!’ यसपछि सहभागीहरू भने हाँसेका थिए।
000
गत वर्ष चैत ११ गते देउवा विराटनगर पुगेका थिए। विराटनगर विमानस्थलमा भएको पत्रकारसम्मेलनमा समेत देउवाले संचारकर्मीमाझ आक्रोश पोखेका थिए। पत्रकारहरूले सरकार कहिले बनाउने, किन नबनाएको? देशलाई अनिर्णयको बन्दी किन बनाएको? प्रतिगमनको नाइकेलाई किन नहटाएको? ओलीसँग मिलेर सरकार बनाएर चुनावमा किन नगएको भनेर पत्रकारहरूले निरन्तर प्रश्न सोधेपछि देउवा आक्रोशित बनेका थिए।
‘अहिले सरकारको नेतृत्व लिने वातावरण बनिसकेको छैन। प्रतिगमनको नाइके केपी ओली हो र? तपाईंहरूलाई थाहा होला,’ देउवाले भनेका थिए। तर, पत्रकारहरूको प्रश्न त्यतिमै रोकिएन। उनीहरूले निरन्तर प्रश्न गर्दै अविश्वासको प्रस्ताव कहिले ल्याउने भनेर सोधेको सोध्यै गरेपछि भने देउवा जंगिए। आक्रोशित हुँदै उनले भने, ‘हामी विपक्षी पार्टी हो, विपक्षी पार्टी हो, विपक्षी पार्टी हो, सुन्नु भएन ल जानोस्।’
000
चैत २७ गते निजामती कर्मचारी यूनियन संघको कार्यक्रमको मञ्चमै देउवा र वरिष्ठ नेता पौडेलबीच चर्काचर्की परेको थियो। उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउने कुरामा देउवाले अग्रसरता नलिएको भन्दै पौडेलले आक्रोश पोखेका थिए।
मञ्चमा भाषण सकेर झरेपछि पौडेलले देउवाको मुखमै औंला लैजाँदै वादविवाद गरे गरेका थिए। देउवा पनि पौडेलले आफूलाई इंगित गर्दै ओलीसँग मिलेको आरोप लगाएपछि आक्रोशित थिए।
नेताहरु भन्छन्– स्वभाव नै त्यस्तै हो, बोल्नपरे बाझ्नै पर्छ
चाँडो आक्रोशित भइहाल्ने र प्रतिक्रिया जनाउने देउवाको स्वभाव नै भएको कांग्रेस नेताहरूको बुझाइ छ। स्वभावजन्य कारणले देउवा चाँडो रिसाउने गरेको उनीहरूको भनाइ छ। ‘उहाँको स्वभाव नै त्यस्तै हो। चाँडो रिसाइहाल्ने, प्रतिक्रिया दिइहाल्नुपर्ने,’ देउवा निकट एक नेता भन्छन्, ‘उहाँ तत्काल प्रतिक्रिया जनाउनुहुन्छ, रिसाउनुहुन्छ।'
देउवा पार्टी बैठक, मिडिया र सार्वजनिक कार्यक्रममा पनि झ्वाँकिन्छन्। तर त्यसलाई लामो समय तुष पालेर भने नबस्ने ती नेताको भनाइ छ। 'आफूलाई चित्त नबुझेको कुरामा तत्काल प्रतिक्रिया जनाउने उहाँको स्वभाव छ। प्रतिक्रिया जनाउने शैली कहिलेकहिले ठट्यौली पनि नहुने होइन। कहिलेकहिले चाहिँ आक्रोशित पनि बन्नुहुन्छ। तर प्रश्न गरेकै भरमा कसैलाई कारबाही गरिहाल्ने, मनमा तुष पालेर बस्ने चाहिँ गर्नुहुन्न,’ देउवासँग लामो राजनीतिक सहयात्रा गरेका ती नेताले भने।
संस्थापन पक्षभन्दा बाहेकका नेताहरु भने सभापतिमा अरुका कुरा सुन्ने धैर्यता नभएको टिप्पणी गर्छन्। हरेक बैठकमा कुनै न कुनै नेतासँग देउवाको चर्काचर्की परिहाल्छ। कसैले धारणा राखिरहँदा बीचमै रोकेर ठाडै जवाफ दिने बानी देउवाको छ। ‘आफ्ना धारणा राख्दा बाझ्नुपर्ने अवस्था छ। चित्त बुझेन भने बीचमै रोकेर ठाडै जवाफ दिनुहुन्छ,’ संस्थापन बाहेकका पक्षका अर्का नेताले भने, ‘बाझ्न तयार भएरै आफ्ना धारणा राख्ने गरेका छौं।’