काठमाडौं– महाकाली र सेती नदीमा पानीको बहाव बढेसँगै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुला र डोटीले सतर्कता अपनाउन आग्रह गरेको हो।
शुक्रबार महाकाली नदीको बहाव ५ मिटर ८० सेन्टिमिटर पुगेको बताइएको छ। प्रहरी चौकी दत्तुका अनुसार उक्त बहाव ६ मिटर पार गरेपछि खतरा हुन्छ। नदीमा ढुंगा तथा ठूला काठ बगिरहेका छन्। दार्चुलाको सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा तटबन्ध माथि नदी पुगिसकेको छ। उक्त तटबन्ध निर्माणाधीन छ।
नदीमा पानीको बहाव बढ्दा आसपासका क्षेत्रमा जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए। नदी तटीय क्षेत्र, जिल्लाका अन्य नदी तथा खोलामा बाढी आउन सक्ने सम्भावना रहेकाले जिल्लावासीमा सावधानी अपनाउन उनले आग्रह गरे।
त्यस्तै जिल्ला प्रशासन कार्यालय डोटीले लगातारको वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। नदीको बहाव बढेकाले नदी आसपासका वस्तीमा खतरा हुनसक्ने भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको हो।
डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ। सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक पुगेको छ। यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो।
केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको खतरा हुने गर्दछ। नदीले किनाराका धान रोपेका खेतमा कटान गरी बगाउन थालेको छ। सेती नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिको समयमा सचेत रहन प्रहरी प्रशासनले आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिमका केही स्थानमा भारि वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले २४ घण्टे बुलेटिनमार्फत उक्त आग्रह गरेको हो। सुदूरपश्चिमको एक वा दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जेखिम रहेको, नदीनाला तथा खहरे खोलाहमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
महाशाखाले बागमती प्रदेशका समेत एक् वा दुई ठाउँमा भारी वर्षा हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।