काठमाडौं- नेपाल राष्ट्र बैंकले गत वर्ष २०७७ वैशाखको तुलनामा महँगी घटेको जनाएको छ। सोमबार चालु आर्थिक वर्षको १० महिनाको वित्तीय अवस्था सार्वजनिक गर्दै राष्ट्र बैंकले गत वर्षभन्दा महँगी घटेको जानकारी गराएको हो।
राष्ट्र बैंकका अनुसार गत वर्षको वैशाखमा उपभोक्ता मूल्यवृद्धि ५.८३ प्रतिशत रहेकोमा गत वैशाखमा ३.६५ प्रतिशत छ।
सो अवधिमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ४.७२ प्रतिशत रहेको र गैर खाद्य तथा सेवा समूहको २.८१ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।
यस वर्ष वैशाखसम्म घ्यू तथा तेलको मूल्यवृद्धि २८.२० प्रतिशतले बढेको राष्ट्र बैंकको निष्कर्ष छ। त्यस्तै मासु तथा माछाको मूल्यवृद्धि १७.१२ प्रतिशत छ। यस वर्ष पहाडमा उच्च मूल्यवृद्धि रहेको राष्ट्र बैंकको निष्कर्ष छ।
पहाडमा मूल्यवृद्धि दर ४.१४ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, हिमालमा १.३३ प्रतिशत र काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत मूल्यवृद्धि रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।