बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्से परिसूचक ३०२५ अंकमा, अस्वाभाविक वृद्धिले नियामक चिन्तित

नेप्से परिसूचक ३०२५ अंकमा, अस्वाभाविक वृद्धिले नियामक चिन्तित

सोमबार बजारले नयाँ उचाइ चुमेको छ। यसदिन लगानीकर्ताहरु विकास बैंक तथा फाइनान्स कम्पनीहरु छोडेर वाणिज्य बैंकतर्फ सिफ्ट हुँदा बजार उकालो लागेको हो। 
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं– सोमबार बजारले नयाँ उचाइ चुमेको छ। यसदिन लगानीकर्ताहरु विकास बैंक तथा फाइनान्स कम्पनीहरु छोडेर वाणिज्य बैंकतर्फ सिफ्ट हुँदा बजार उकालो लागेको हो। 

सेयर बजार परिसूचक (नेप्से) ४२.७२ अंकले बढेर ३०२५.८२ अंकमा अडिएको छ। ३०५१ अंकसम्म पुगेको बजार विस्तारै ओरालो लागेर ३०२५ अंकमा अडिएको हो। 

यसदिन कारोबार रकम भने १८ अर्ब ८८ करोड रुपैयाँ बराबरको भएको छ। बजार उकालो लाग्नुपर्ने कुनै कारण नहुँदा नहुँदै पनि बजार उकालो लागेको भन्दै पूर्व अर्थसचिव शान्तराज सुवेदीले ट्विट गरेका छन्। उनले भनेका छन्, ‘नेप्सेको पारो त निक्कै रफ्तारमा उकालो लाग्दैछ भन्छन्, केले धकेल्दै छ र के ले तान्दैछ माथिबाट? यसका विज्ञहरुले बताइदिए हुने नि ठूल्दाइलाई।’ 

पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको ट्रेन्ड अनौठो देखिएको छ। बजारमा छोटो अवधिका लगानीकर्ताको चलखेल बढी देखिएको छ। कतिपय बजार विश्लेषकहरुका अनुसार कुनै ठाउँमा बसेर बजारमा कर्नरिङ भइरहेको छ। कतिपय भने बजार उकालो लाग्नैपर्ने थियो, लाग्यो भन्छन्। 

यथार्थमा भने बजार यस्तो रफ्तारमा उकालो लाग्नको लागि उचित समय नभएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी बताउँछन्। सेयर बजारको नियामक निकाय रहेको धितोपत्र बोर्ड दिनप्रतिदिन बजार ह्वात्तै उकालो लागिरहेको प्रति अत्यन्त चिन्तित रहेको उनले बताए। यसबारे नेपाल राष्ट्र बैंकपनि गम्भीर देखिएको छ।  

सोमबार दिनभर २२१ कम्पनीको कारोबार भएको छ। यसदिन २४ वटै वाणिज्य बैंकहरुको सेयर मूल्य बढेको छ। सबैभन्दा बढी सिद्धार्थ बैंकको बढेको छ। 

यसदिन विकास बैंकहरुको समूहगत परिसूचक ५६ अंकले घटेको छ। यद्यपि, सिन्धु विकास बैंक, कर्णाली विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको सेयर मूल्य भने बढेको छ। 

सोमबार हायात रिजेन्सी होटलले आफ्नो घाटा १२ करोड ६५ लाख रुपैयाँ पुगेको भन्दै वित्तीय विवरण सार्वजनिक गरेको छ, तर सोही दिन नै तारागाउँ रिजेन्सीको नाममा कारोबार भइरहेको सो होटलको मूल्य भने करिब १० प्रतिशतले बढेको छ। 

त्यस्तै यसदिन गुरुप्रसाद न्यौपाने तथा उनको परिवार संस्थापक रहेको अरुण भ्याली र अपी पावर कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ। दुवै कम्पनीलाई सेबोनले केही वर्षअघि परिवार नै कम्पनीको सेयरधनी रहेको र सो कम्पनी समस्यामा जानसक्ने ठहर गर्दै स्पष्टीकरण सोधेको थियो। धितोपत्र बोर्डले अपी पावर कम्पनीको राइट सेयर निष्कासनको अनुमति दिन चार वर्ष लगाएको थियो। 

सोमबार यी दुवै कम्पनीको कारोबार क्रमशः ६२ करोड ६० लाख र ५४ करोड ८६ लाख रुपैयाँ भएको छ। सोमबारको बजारमा नेपाल इन्स्योरेन्स, खानीखोला, जोशी, घलेम्दी र ङादी हाइड्रोपावर, ओरेन्टल होटल, सीइडीबी हाइड्रो, तारागाउँ रिजेन्सी (हयात) को सेयर मूल्यमा बढेर सर्किट लागेको छ। त्यस्तै माउन्टेन हाइड्रो, अरुणभ्याली, युनाइटेड मोदी, गुडविल फाइनान्स, ग्रीनलाइफ हाइड्रोको सेयर मूल्य भने घटेको छ। 

प्रकाशित: Jun 14, 2021| 10:43 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्