काठमाडौं– नेप्से परिसूचक र सेयर कारोबार रकम दुवैमा आज आइतबार रेकर्ड कायम भएको छ।
आज १९ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यो नेपाली पुँजी बजारको अहिलेसम्मकै उच्च खरिद–बिक्री रकम हो। यसअघि गत साता जेठ २३ गते अहिलेसम्मकै उच्च १७ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।
आज नेप्से ३८.३२ अंकले बढेर २९८३.१० अंकमा अडिएको छ। विकास बैंक, फाइनान्स, हाइड्रोपावर समूहको सूचक उच्च अंकमा उकालो लागेको छ। यी समूहहरुको सेयर भाउमा केही समययता उछाल आइरहेको छ। आइतबार होटल तथा पर्यटन समूह पनि चम्किएको छ। तर सेयर बजारमा अधिक हिस्सा ओगट्ने बैंकिङ समूहमा भने चमक देखिएन।
आइतबार कुल २२० कम्पनीको ३ करोड ७० लाख ७६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। ७२ करोड २९ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अरुण भ्याली हाइड्रोपावर सबैभन्दा अघि छ।
यसैगरी, दोस्रोमा लुम्बिनी विकास बैंक र तेस्रोमा नेसनल हाइड्रोपावर परेका छन्। ४४ कम्पनीको भाउ सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ।
पछिल्लो समय बजार उकालो लाग्दै जाँदा नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंक चिन्तित देखिएका छन्। बिनाआधार नेप्से उकालो लागेको भन्दै केही दिनअघि राष्ट्र बैंकले बजारलाई नियन्त्रण गर्ने खालका केही उपकरणहरुको प्रयोग गरेको थियो। तर पनि बजार नियन्त्रण हुनुको साटो झन् ‘बुम’ भइरहेको छ।
बजारमा सेयर लगानीकर्ताहरुको संख्या ह्वात्तै बढेको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुरारीहरि पराजुलीले बताए। उनका अनुसार बजारमा सेयर बजार सम्बन्धी चासो र चिन्ताको विषय क्लबहाउस, ट्वीटर स्पेस जस्ता सामाजिक सञ्जालहरुमा देखिएको उपस्थितिले नै जनाउँछ।
बजारमा नयाँ लगानीकर्ताको प्रवेशसँगै पुराना लगानीकर्ताको चलखेलका कारण बजार उकालो लागेको बजार विश्लेषकहरु बताउँछन्। बजारमा इन्साइडर ट्रेडिङ, कर्नरिङ वा म्यानिपुलेट भइरहेका कारण बजार उकालो लागेको बजार विश्लेषक निरव पुडासैनीको दाबी छ।