सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीले पाखुरा समात्दा-समात्दै वाचन गरिएको एउटा कविता

प्रहरीले पाखुरा समात्दा-समात्दै वाचन गरिएको एउटा कविता

कविता गुञ्जनले प्रहरी झस्किएझैं गरेर कवि कार्कीलाई पाखुरामा समातेर तान्न खोज्थे। गिरफ्तार गरेर गाडीमा लैजान खोज्थे। प्रहरीको मुठीमा रहेको हातबाट कवि कार्की आफ्नो मोबाइलको स्क्रिनमा हेरेर कविता झनै बुलुन्द स्वरमा वाचन गर्थे। 
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं- सुरक्षामा खटिएका दुई प्रहरी कर्मचारीले एउटा–एउटा हातमा जाेडले समातिरहेका छन्। कवि शौरभ कार्की भने प्रहरीले समातेका हातमा मोबाइल हेरेर जोस्सिँदै कविता वाचन गर्दै छन्। चिन्टे तालु, पहेंलो टिसर्ट, सेतो ग्लास, सेतो मास्क लगाएका कार्की कविता वाचन गरिरहँदा लाठी र हतियार बोकेका प्रहरी कर्मचारी मुग्ध भएझैं लाग्थ्यो।  

कार्कीको सुरक्षामा खटिएका झैं देखिने प्रहरीको घेराउको कुनै वेपर्वाह नगरी उनी कविता सुनाइरहेका थिए। कविता गुञ्जनले प्रहरी झस्किएझैं गरेर कवि कार्कीलाई पाखुरामा समातेर तान्न खोज्थे। गिरफ्तार गरेर गाडीमा लैजान खोज्थे। प्रहरीको मुठीमा रहेको हातबाट कवि कार्की आफ्नो मोबाइलको स्क्रिनमा हेरेर कविता झनै बुलुन्द स्वरमा वाचन गर्थे। 

तिम्रो हातमा छ लाठी।
कम्मरमा छ बन्दुक।
खुट्टामा छ बुटजुत्ता।
त्यही जुत्ताको तलुवामुनि
सदियौँदेखि कुल्चिएका छौ तिमीले–
मेरो अस्तित्व।

बालुवाटारमा शुक्रबार भएको नागरिक आन्दोलनमा उनले यही कविता वाचन गरिरहँदा प्रहरीले गिरफ्तार गर्नुअघिको दृश्य हो यो। प्रहरी हस्तक्षेपका उनले कविता पूरै वाचन गर्न पाएनन्। तिनै कवि र कविता यतिखेर सामाजिक सञ्जालमा भाइरल भएका छन्। कार्कीले बालुवाटारस्थित सडकमा उभिएर कविता वाचन गर्नु प्रहरीका लागि ठूलै आपत्तिको विषय बन्यो।

शान्तिपूर्वक गरिएको आन्दोलनमा कविता वाचन गर्नु सरकारलाई बमै पड्काए जत्तिकै भयो। नत्र यत्तिका प्रहरीले प्रतिगमनविरुद्ध कविताबाट बोल्ने कविलाई किन घेर्नुपर्थ्याे र? सामाजिक सञ्जालमा उनको कविताको चौतर्फी प्रशंसा गरिएको छ। उनको रिहाइ माग गर्दै सरकारको आलोचना भइरहेको छ। 

सरकारको निरंकुश सोच र प्रतिगमनविरुद्ध चर्को आलोचना भइरहेको छ। बृहत् नागरिक अन्दोलनले गिरफ्तारीमा परेका साहित्यकार एवं अभियन्ता खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, सञ्जीव उप्रेती, अर्चना थापा, सरिता परियार, रीता परियार, प्रणेता,  भास्कर गौतम,  अनुभव अजित, घिमिरे युवराज, संगीत, भावना रावत, निर्घ नवीन, शशिविक्रम कार्की, सौरभ कार्की, सौरभ न्यौपाने, अञ्जान बाबुलगायत १८ जना पक्राउ परेका छन्।

सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध शुक्रबार बृहत् नागरिक आन्दोलन भएको थियो।
युवा कवि कार्की कथा र नाटक लेखनमा पनि संलग्न सृजनाशील प्रतिभा हुन्। उनले शुक्रबार बालुवाटारमा वाचन गर्दागर्दै प्रहरी हस्तक्षेपका कारण रोकिएको कविता :

तिम्रो हातमा छ लाठी।
कम्मरमा छ बन्दुक।
खुट्टामा छ बुटजुत्ता।
त्यही जुत्ताको तलुवामुनि
सदीयौंदेखि कुल्चिएका छौ तिमीले –
मेरो अस्तित्व।
लाठी तिम्रै,
बन्दुक तिम्रै,
हतकडी तिम्रै,
न्यायालय तिम्रो,
सत्ता पनि तिम्रै,
म त केवल एक भोट न हुँ।
म त केवल एक सास न हुँ।
मलाई थाहा छ
मेरो सास जत्तिखेरै जान सक्छ।
म कतै झडपहरूमा मारिन सक्छु।
ग्याङ लिडर बताइन सक्छु।
वा ड्रग डिलर।
वा कुनै आतंककारी।
म, जत्ति बेलै मारिन सक्छु।
मेरो सास– तिम्रा लागि – मात्र एक गोली न हो।
धन्न हावाको रङ हुँदैन र मात्रै,
नत्र त तिमीले
मेरो सासको रङ पनि कालै देख्थ्यौ होला?
हेर त ः कालै छ – सडकको रङ पनि।
र अहिले त्यो सडकभरि छन् कालै खुट्टा।
उचालिरहेछन् आफ्ना कालै मुट्ठीहरू।
इन्कलाव – जिन्दावाद।

भिडियो

प्रकाशित: Jun 11, 2021| 13:52 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।