बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक बहुमत गुमेका दिन एक मिनेट पनि सरकारमा नबस्ने बताएका छन्। शुक्रबार बसेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा मुख्मयन्त्री पोखरेलले संसदभित्रको राजनीतिक अंकगणितलाई मात्रै विश्वास गर्ने बताएका हुन्।
‘म अराजनीतिक तरिकामा विश्वास गर्दिनँ, राजनीतिक रुपमा बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा रहन हुँदैन भन्ने लाग्छ,’ मुख्यमन्त्री पोखरेलले भनेका थिए। उनले प्रदेशसभाका चार जना सदस्यहरुको सवालमा 'स्टे अर्डर' जारी गरेको बताउँदै संसदभित्र राजनीतिक अंकगणित बलियो रहेको दाबी गरेका थिए।
मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखले नीति कार्यक्रम प्रस्तुत गर्ने विशेष समारोहमा प्रतिपक्ष अनुपस्थित भएको भन्दै सत्तापक्षसँग बहुमत भएको सिद्ध गरेको दाबी गरेका थिए। यसले सरकारमा बहुमत र अल्पमतको विषयको विवाद अन्त्य गरेको दावी उनको छ।
स्थायी रानजीतिक संस्कार निर्माण गर्न नसक्नु सामूहिक चिन्ताको विषय उल्लेख गर्दै पोखरेलले मुख्यमन्त्रीमा आफ्नो पुनर्नियुक्तिपछि देखापरेका ‘नाटकीय प्रभावले गर्दा राजनीतिमा अस्वस्थताको प्रवेश भएको’ उल्लेख गरेका थिए। ५ वर्षसम्मका लागि दिएको ‘म्यान्डेट’ पालना गर्न चुकेको भन्दै राजनीतिक दलका अगाडि नैतिक प्रश्न उठेको मुख्यमन्त्रीको भनाइ छ।
मुख्यमन्त्री पोखरेलले कोरोना महामारी नियन्त्रणको सन्दर्भमा लुम्बिनी प्रदेश ‘सकारात्मक अवस्था’मा रहेको बताए। मुख्यमन्त्रीले सम्बोधनपछि नेकपा एमालेका प्रमुख सचेतक भूमेश्वर ढकालले धन्यवाद ज्ञापन र सांसद सरस्वती गौतमले प्रदेशमा प्रस्तुत नीति तथा कार्यक्रमको सम्बोधनमा समर्थन गरेकी थिइन्। यो प्रस्ताव बहुमतले पारित भएको छ। अहिले संसदमा नीति तथा कार्यक्रममाथि दलहरूले धारणा राखिरहेका छन्।