काठमाडौं- गण्डकी प्रदेशसभामा विपक्षी गठबन्धनको बहुमत पुग्ने भएको छ।
राष्ट्रिय जनमोर्चाले प्रदेश सांसद कृष्ण थापालाई कारबाही गरेसँगै अब गण्डकीमा विपक्षी गठबन्धनलाई सरकार बनाउन चाहिने बहुमत पुग्ने भएको हो।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव दर्ता गराएका थिए। तर, उनको पक्षमा २७ मत मात्रै परेको थियो भने विपक्षमा ३० मत परेको थियो।
जनमोर्चाका थापा भने तटस्थ बसेका थिए। त्यसैले राष्ट्रिय जनमोर्चाले पार्टी ह्विप नमानेको भन्दै उनलाई सांसद पदबाट हटाएको छ।
यससँगै अब ६० सदस्यीय प्रदेश सभामा ५९ सांसद छन्। सरकार गठनका लागि ३० सांसद आवश्यक पर्छ।
अब प्रदेश सभामा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जनमोर्चाका दुई, जनता समाजवादी पार्टीका दुई र एकजना स्वतन्त्र सांसद छन्।
यसअघि विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरेर मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए।
अब संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्ने तयारी विपक्षी गठबन्धनको छ।