सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीलाई डा. केसीको प्रश्न- किन जनताको अहितमा निरन्तर लागिरहनुभएको?

प्रधानमन्त्रीलाई डा. केसीको प्रश्न- किन जनताको अहितमा निरन्तर लागिरहनुभएको?

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बी एण्ड सी मेडिकल कलेजलाई सम्बधन नदिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन्। 
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बी एण्ड सी मेडिकल कलेजलाई सम्बधन नदिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन्। 

केसीले बी एन्ड सी मेडिकल कलेजलाई चोर बाटोबाट सम्बन्धन प्रदान गर्ने नियतले चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक आज डाकेको पत्रमा उल्लेख गरेका छन्। 

‘स्वास्थ्य माफियाहरूको चंगुलमा परेर संविधान, लोकतन्त्र, तथा विधिको शासन बर्खिलाप हुने गरी यहाँले आम नागरिकहरूको हितमा कार्य गर्नुको सट्टा अहित हुने कार्यमा निरन्तर लागिरहनुभयो। खासमा यहाँले कोभिडको दोस्रो लहरको महामारीमा सम्पूर्ण राज्य संयन्त्र लगाएर आम नेपालीको जीवन रक्षार्थ तथा चिकित्सा शिक्षा ऐनको प्रावधान अनुरुप प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण गर्न लाग्नुपर्ने थियो,’ उनले पत्रमा लेखेका छन्। 

बी एन्ड सी मेडिकल कलेजका सञ्चालकले चिकित्सा शिक्षा सुधारका अभियन्तालाई ज्यान मार्ने धम्की दिएबापत आयोगको अध्यक्षको हैसियतले प्रधानमन्त्रीले कारबाही गर्नुपर्नेमा पदको दुरुपयोग गरी तिनै सञ्चालकलाई पुरस्कृत गर्न उचित ठानेको पत्रमा उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘यस्तो लुटतान्त्रिक कार्य सभ्य समाजमा कदापि स्वीकार्य हुनेछैन।’

डा. केसीले प्रधानमन्त्रीलाई लेखेको पत्र यस्तो छ।

२०७८ जेठ २८

सम्माननीय प्रधानमन्त्रीज्यू,

नेपाल सरकार,

सिंहदरबार, काठमाडौँ। 

विषयः ज्ञापन पत्र तथा ध्यानाकर्षण। 

महोदय,

यहाँलाई स्मरण नै छ कि नेपाली नागरिकहरूको निरन्तरको प्रयासको फलस्वरूप चिकित्सा शिक्षा सुधारको ऐन निर्माण भई  चिकित्सा शिक्षा आयोग गठन भएको छ जसले गर्दा सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षामा प्रत्येकले नेपाली नागरिकले समान पहुँच प्राप्त गर्न सफल हुनेछन्। तर विडम्बना यो छ कि सोही आयोगको अध्यक्षको हैसियतले यहाँले त्यसको मर्मको सम्मान गर्नुको सट्टा स्वास्थ्य माफियाहरूको हितको लागि त्यसलाई तोड्ने काम गर्दै हुनुहुन्छ। 

मेरो जानकारीमा यो आएको छ कि यहाँले शुक्रबार जेठ २८ गते बि एण्ड सी मेडिकल कलेजलाई चोर बाटोबाट सम्बन्धन प्रदान गर्ने नियतले चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक डाक्नुभएको छ। नेपाली नागरिकहरूले यहाँलाई मत प्रदान गरी देशको कार्यकारी बनाइ तलब, भत्ता, महँगो स्वास्थ्योपचारको खर्चको लागि कर तिरिरहेका छन्। तर स्वास्थ्य माफियाहरूको चंगुलमा परेर संविधान, लोकतन्त्र, तथा विधिको शासन वर्खिलाप हुने गरी यहाँले आम नागरिकहरूको हितमा कार्य गर्नुको सट्टा अहित हुने कार्यमा निरन्तर लागिरहनुभयो। खासमा यहाँले कोभिडको दोस्रो लहरको महामारीमा सम्पूर्ण राज्य संयन्त्र लगाएर आम नेपालीहरूको जीवन रक्षार्थ तथा चिकित्सा शिक्षा ऐनको प्रावधान अनुरुप प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण गर्न लाग्नुपर्ने थियो। साथै, आयोगको अध्यक्षको हैसियतले बि एण्ड सी मेडिकल कलेजका संचालकलाई हाम्रा साथीहरू तथा आयोगका पदाधिकारीहरूलाई बारम्बार ज्यानको धम्की दिए वापत कारवाही गर्नुपर्ने थियो। तर यहाँले आफ्नो पदको दुरुपयोग गरी तिनै संचालकलाई पुरस्कृत गर्न उचित ठान्नुभयो। यस्तो लुटतान्त्रिक कार्य सभ्य समाजमा कदापि स्वीकार्य हुनेछैन। 

हाल, म करिब २ महिनादेखि युद्धग्रस्त यमनमा स्वयंसेवा गरिरहेको छु। छ वर्षदेखि चलिरहेको गृहयुद्धले लाखौं नागरिकहरूको ज्यान लिइसक्यो, लाखौं घाइते भए, अनि लाखौं नागरिक विस्थापित भई अन्तराष्ट्रिय दातृ निकायहरूको सहयोगको भरमा बाँचिरहेका छन्। भोकमरी, कुपोषण तथा रोगले देश ग्रसित छ तर खासै अराजकता देखिदैन। तर नेपालमा त्यस्तो दयनीय अवस्था नभए पनि चरम अराजकता छ। यो सब यहाँको अहंकार तथा पद लोलुपताको फल हो जुन यो एकदम निन्दनीय छ। तसर्थ, आफ्नो कार्यहरूमा सुधार ल्याई आम नेपालीहरूको हितमा काम गर्नुहुनेछ र चिकित्सा शिक्षा ऐनको मर्मलाई अनुसरण गरी छिटो भन्दा छिटो त्यसको सफल कार्यन्वयनमा लाग्नुहुनेछ भन्ने कामना गर्दछु। 

यदि चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठकबाट बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन प्रदान गर्न गैरन्यायिक संशोधन गरिएमा उक्त कदम तथा यहाँले गर्नुभएका अन्य भ्रष्ट तथा अनैतिक कार्यहरूको विरुद्धमा अर्को चरणको सत्याग्रहको शुरुवात म नेपाल फर्कन बितिक्कै थाल्ने चेतावनी दिन चाहन्छु। त्यसको लागि तयार रहनुहोला। 

एक आम नागरिक,

डा. गोविन्द केसी 

हाल शिहेन, यमन।

प्रकाशित: Jun 11, 2021| 05:05 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।