डोटी- डोटीको दिपायल सिलगढी नगरपालिका–४, समूहगाढमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप००१००१ च २६१५ नम्बरको महेन्द्रा बोलेरो जिप आज बिहान करिब पौने ५ बजे दुर्घटना भएको हो।
दुर्घटनामा कैलाली धनगढी उपमहानगरपालिका–५, तारानगर बस्ने ५० वर्षीय जिप चालक हुकुम शाहको मृत्यु भएको छ।
यसैगरी दुर्घटनामा बाजुरा बूढीगंगा नगरपालिका–८ की २६ वर्षीया देवीकुमारी शाह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन्।
जिप अनियन्त्रित भई सडकबाट कम्तीमा १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।