काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीमा संलग्न एकजनालाई पक्राउ गरेको छ। निकुञ्जको चोरी शिकार नियन्त्रण एकाइले खड्कबहादुर गुरुङलाई गैंडाकोटबाट पक्राउ गरेको हो।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गैंडाकोट नगरपालिका-३, ढोडेनीका ३२ वर्षीय सोमा र मीनबहादुर गुरुङ भनिने खड्कबहादुर गुरुङलाई पक्राउ गरिएको हो।
चोरीशिकार नियन्त्रण विशेष टोली, नेपाली सेना र गैंडाकोट इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले गुरुङलाई पक्राउ गरेको अधिकारीले जानकारी दिए।
उनका अनुसार गुरुङलाई चारवटा चोरीशिकार घटनामा संलग्न रहेको आरोपमा तीन मुद्दा परेको छ। उनीविरुद्ध जिल्ला अदालत नवलपुरमा दुईवटा र जिल्ला अदालत चितवनमा एकवटा मुद्दा छन्।
२०७७ भदौ १६ र १८ गते भएको गैंडाको चोरी शिकारीमा हतियार उपलब्ध गराउने र आफैं सुटसमेत गर्ने उनै भएको निकुञ्जको दाबी छ। गैंडा चोरी शिकारका लागि ६ पटकसम्म निकुञ्ज प्रवेश गरेको र कम्तीमा चारवटा गैंडा मारेको निकुञ्जले जनाएको छ।
उनी फरार रहँदै आएका थिए। उनको साथबाट बन्दुकमा प्रयोग हुने बारुद १२ पोका, बन्दुकको बेयरिङ १५ थान, भरुवा बन्दुकमा प्रयोग हुने रडसमेत बरामद गरिएको छ।
योसँगै चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले २६ जना तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ। तीमध्ये २२ जना हालसालैका घटनाका र चार जना फरार अभियुक्त हुन्। रासस