जनकपुरधाम- प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले प्रदेशसभामा आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
आज बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख झाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीमा विशेष जोड दिइएको छ। यसका अतिरिक्त नीति तथा कार्यक्रममा चुरे संरक्षणलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको छ। प्रस्तुत नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमहरुको निरन्तरता रहे पनि केही नयाँ कार्यक्रमहरु समेत समावेश गरिएका छन्।
संघ सरकारले व्यापार घाटा न्यूनीकरणका लागि गिट्टी बालुवा उत्खनन् गर्ने गरी बजेट नै प्रस्तुत गरेको समयमा प्रदेश २ सरकारको नीति तथा कार्यक्रममा चुरे संरक्षणमा विशेष जोड दिइएको हो।
प्रदेश २ को प्रदेशसभामा प्रदेश प्रमुख राजेश झाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा चुरे विनाशबाट प्रदेशका साथै पूरै देश मरुभूमितर्फ अग्रसर हुने भएकाले चुरे संरक्षणका लागि कानूनी तथा प्रशासनिक नीति अवलम्बन गर्ने उल्लेख गरेर संघ सरकारलाई काउण्टर दिएको छ।
चुरेको फेदमा हरियो वन विकास, चुरे क्षेत्रमा जलाशय निर्माणलगायतका नीति अपनाइने बताइएको छ। यसका साथै नदीको बालुवा, ढुंगा आदि ढुवानीमा नियन्त्रण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
नीति तथा कार्यक्रममा सबैभन्दा बढी जोड स्वास्थ्य क्षेत्रमा दिइएको छ। स्वास्थ्य क्षेत्रअन्तर्गत कोरोना परीक्षणको दायरा फराकिलो बनाइने, पूर्ण खोप प्रदेश अभियान चलाइने, दलित तथा सीमान्तकृत समूदायलाई निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराइने नीति लिइएको छ।
त्यस्तै जनकपुरधामको प्रादेशिक अस्पताललाई ५०० शय्याको अस्पतालको रुपमा विकास गरिने, ८ वटै जिल्लामा कम्तीमा एउटा स्वास्थ्य तथा आरोग्य केन्द्रको स्थापना गरिने छ। यसका साथै प्रदेशको स्वास्थ्य क्षेत्रलाई मजबुुत बनाउन प्रदेशको आफ्नै स्वास्थ्य नीति ल्याइने, स्वास्थ्य क्षेत्रमा सुशासन र पारदर्शिता ल्याउन प्रभावकारी कदमहरु चालिने नीति तथा कार्यक्रममा उल्लेख छ।
गणतन्त्रवादी नेताद्वय दुर्गानन्द झा र रामराजा सिंहका साथै गजेन्द्रनारायण सिंहको शालिक निर्माण गरिने छ।
प्रदेश सरकारले कोरोना महामारीका कारण उत्पन्न बेरोजगारी समस्या समाधानका लागि अध्ययन गरेर प्रदेशमै रोजगारी सिर्जना गर्ने भएको छ। यसका लागि मझौला उद्योगहरुलाई प्रोत्साहन गरिने, वैदेशिक रोजगारबाट फर्केका युवाहरुका लागि नवप्रवद्र्धन कृषि परियोजनालाई निरन्तरता, कृषि बीमा कार्यक्रम, कृषि सडक निर्माण, कृषिमा आधुनिकीकरणलगायतका कार्यक्रमहरु ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ।
अधिकांश पुरानै कार्यक्रम
प्रदेश २ को प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको पाइएको छ। प्रदेश सरकारले पछिल्लो वर्ष नै मधेशी सहिद मार्ग निर्माण गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको थियो।
यसका लागि बजेटसमेत छुट्याइयो। तर यो सडक निर्माणमा खासै प्रगति भने देखिएन। यस वर्ष पनि नीति तथा कार्यक्रममा पर्सादेखि सप्तरी जिल्लासम्मको २५० किलोमिटर सडक खण्डलाई मधेशी सहिद राजमार्गको रुपमा विकास गर्ने कार्यक्रम समावेश गरिएको छ। ‘हाम्रो प्रदेश, उज्यालो प्रदेश’ नाराका साथ प्रदेशलाई उज्यालो बनाउन ३०० मेगावाट सौर्य उर्जा प्लान्टको स्थापना गर्ने नीति अघिल्ला वर्षहरु जस्तै यस वर्ष पनि नीति तथा कार्यक्रममा निरन्तरता पाएको छ।
प्रदेश सरकारले आर्थिक रुपमा विपन्न, दलित तथा मुस्लिम छात्राहरुको शैक्षिक स्तर उकास्नका लागि विशेष छात्रवृति कार्यक्रम, प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा रहेको जनकपुर अञ्चल अस्पताललाई प्रदेश नमूना अस्पतालको रुपमा विकसित गर्न ५०० शय्यासम्म पुर्याउने, जिल्ला अस्पतालहरुको स्तरोन्नति गर्ने, एउटा ट्रमा सेन्टरको स्थापनालगायतका कार्यक्रमहरुले निरन्तरता पाएका छन्। यद्यपि यस वर्षको नीति तथा कार्यक्रममा प्रदेशमा २ वटा ट्रमा सेन्टर स्थापना गर्ने नीति लिइएको छ।