पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ्ले प्रदेशसभालाई मैनाचरीको बथान जस्तो बनाइएको आरोप लगाएका छन्।
उनले प्रदेशसभालाई सिर्जनशील थलोको रुपमा विकास गर्न नसकिएको बताए। संसदमा विश्वासको मत लिने क्रममा सदनमा उठेका प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन्।
‘प्रदेशसभाको अपमान गर्न खोजेको होइन, यस्तो बुझिए माफी चाहन्छु, तर हामीले प्रदेशसभालाई मैनाचरीको बथान जस्तो बनाएका छौं।’ उनले भने, ‘क भन, ख भन, ग भन भनेजस्तो हामीले कसैले भन्न अह्राएको मात्रै भनिएको छ।’ उनले भने, ‘हामी सिर्जनात्मक हुन सकेनौं, सायद यो ममा पनि लागू हुन्छ होला।’
उनले बालुवाटार र खुमलटारमा भाकल गर्नेहरुका कारण ईमान्दार कार्यकर्ता पछाडि परेको पनि बताए। बालुवाटार र खुलमटारमा भाकल गर्नेहरुले आलोचनात्मक चेत बोक्न सकेनन्, त्यसैले यो मैनाचरीको बथान जस्तो भयो।