सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'चुरे नेपालमा मात्रै छ' भन्ने प्रधानमन्त्रीका सल्लाहकारको दाबी गलत

'चुरे नेपालमा मात्रै छ' भन्ने प्रधानमन्त्रीका सल्लाहकारको दाबी गलत

नेपाल सरकारको आधिकारिक वेबसाइट, प्रतिवेदन एवम् अन्तरराष्ट्रिय जर्नलका साथै विज्ञको भनाइका आधारमा चुरे अर्थात् शिवालिक वा सब-हिमालय नेपालका साथै पाकिस्तान, भारत र भुटानमा फैलिएको छ। त्यसैले प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको चुरे नेपालमा मात्रै छ भन्ने दाबी गलत ठहर्छ।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पत्रकार ऋषि धमलाले सञ्चालन गर्ने प्राइम टाइम्स टिभीको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा २०७८ साल जेष्ठ २३ गते समसामायिक राजनीतिका बारेमा कुराकानी गरेका थिए। थापाले सो अन्तर्वार्तामा सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेटले वैधानिकरुपमा ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन गरेर निकासी गर्न प्रस्ताव गरे लगत्तै विवादास्पद बनेको चुरेको विषयमा टिप्पणी गरेका थिए। चुरे संरक्षणको बारेमा बोल्ने क्रममा उनले चुरे नेपालमा मात्र रहेको दाबी गरेका छन्।उनले भनेका थिए:

'चुरे संरक्षणसँग सम्बन्धित राष्ट्रपति चुरे कार्यक्रम छ, २० वर्षे लामो गुरूयोजना छ। त्यसका निम्ति डेढ अर्बभन्दा बढी बजेट व्यवस्था गरिएको छ। चुरे संरक्षण विकास समिति कार्यरत छ र चुरे चाहिँ तराईको लाइफलाइन हो, त्यसलाई संरक्षण गर्नुपर्छ। संसारमा चुरे छैन, नेपालमा मात्रै छ। र, चुरे संरक्षणको कार्यक्रम नमुनाको रुपमा नेपालले मात्र सक्छ।'

साउथ एसिया चेकले थापाको दाबी कति सत्य छ भनी जाँच गरेको छ।

नेपाल सरकारले स्थापना गरेको राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको वेबसाइटको मुख्यपृष्ठमा राखिएको परिचयमा 'पश्चिममा पाकिस्तानको सिन्धु नदीदेखि पूर्वमा भारतको ब्रम्हपुत्र नदीसम्म फैलिएको चुरे श्रृंखला शिवालिकको नामबाट पनि चिनिन्छ' भनी उल्लेख गरिएको छ। यसलाई भौगर्भिक भाषामा शिवालिक (Siwalik) का साथसाथै सब-हिमालय (Sub-Himalaya) पनि भन्ने गरिन्छ। 

यसैगरी, राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिलाई बुझाइएको मोतिलाल घिमिरेद्वारा लिखित अ‌‌ङ्ग्रेजी भाषाकाे ‘ल्यान्ड युज एन्ड ल्यान्ड कभर चेन्ज इन द चुरिया तराइ रिजन नेपाल’ नामक प्रतिवेदनमा पनि शिवालिक वा सब-हिमालयलाई नै स्थानीय भाषामा चुरे भनिएको उल्लेख छ। साथ-साथै यसले शिवालिक भारत, भुटान र पाकिस्तानसम्म फैलिएको तथ्य उजागर गर्दछ।

हिमालयको उत्पत्ति हुँदा भएको भूक्षयका कारण हजारौं  वर्षमा जम्मा भएको गेग्रान नै चुरे भएको जलाधारविद् मधुकर उपाध्या बताउँछन्। 'यस मध्य हिमाली क्षेत्रमा जहाँ जहाँ हिमाल छन् त्यहाँ चुरे छ। गंगा नदी प्रणालीले बगाएर ल्याएका ढुङ्गा माटो मिलेर हामीकहाँ चुरे बनेको हो। तर याे हामीकहाँ मात्र छैन, पाकिस्तानदेखि भुटानसम्म फैलिएकाे छ,' उनले भने।

असेम्ब्लेज जर्नलमा प्रकाशित पर्थ आर. चाैहानको लेखबाट लिइएको स्क्रिनसट

बेलायतको सेफिल्ड विश्वविद्यालयस्थित पुरातत्व विभागको असेम्ब्लेज जर्नलमा प्रकाशित लेखका अनुसार पनि शिवालिक पहाडहरु पाकिस्तान, भारत, नेपाल, र भुटानका राजनीतिक सीमाभित्र अवस्थित छन्।

नेपाल सरकारको आधिकारिक वेबसाइट, प्रतिवेदन एवम् अन्तरराष्ट्रिय जर्नलका साथै विज्ञको भनाइका आधारमा चुरे अर्थात् शिवालिक वा सब-हिमालय नेपालका साथै पाकिस्तान, भारत र भुटानमा फैलिएको छ। त्यसैले प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको चुरे नेपालमा मात्रै छ भन्ने दाबी गलत ठहर्छ।

(यो सामग्री साउथ एसिया चेकबाट लिइएको हो।)

प्रकाशित: Jun 10, 2021| 11:30 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।