बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मेलम्ची आयोजना : यांग्री र लार्के खोलामा तत्काल काम सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

मेलम्ची आयोजना : यांग्री र लार्के खोलामा तत्काल काम सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

हाल मेलम्चीबाट न्युनतम प्रतिदिन १७ करोड लिटर पानी आइरहेको छ। सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेका यांग्रीखोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर गरी प्रतिदिन ५१ करोड लिटर पानी काठमाडौंमा झार्न सकिन्छ। 
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलामा समेत तत्काल काम सुरु गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजनासम्बन्धी अद्यावधिक जानकारी लिएपछि उनले यस्तो निर्देशन दिएका हुन्।

हाल मेलम्चीबाट न्युनतम प्रतिदिन १७ करोड लिटर पानी आइरहेको छ। सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेका यांग्रीखोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर गरी प्रतिदिन ५१ करोड लिटर पानी काठमाडौंमा झार्न सकिन्छ। 

प्रधानमन्त्रीले दुवै खोलाबाट पानी ल्याउनका लागि आवश्यक गृहकार्य थाल्न तथा त्यसका लागि आवश्यक प्रशोधन प्लान्टको कार्य समेत तत्कालै थाल्न निर्देशन दिएका छन्। चैत २१ गते देखि औपचारिक रुपमा मेलम्चीको पानी वितरण थालिएको थियो। 

प्राविधिक आवश्यकता अनुसार अब सुरुङको पानी पुरै खाली गरेर कुनै समस्या आए नआएको जाँच गर्ने र त्यसपछि फेरि पानी पठाउन थालिने छ। मन्त्रालयका अनुसार अब सुरुङलाई पूरै खाली गर्न  करिब १० दिन, परिक्षणका लागि केहीदिन र पुरै पानी भर्न १५ दिनगरी करिब एक महिना समय लाग्ने छ। 

हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुरानै संरचना अनुसार पानी वितरण गरिएको जानकारी मन्त्रालयका अधिकारीहरुले दिए। ‘वर्षा सुरु भएपछि करिब ४ करोड लिटर थपिने भएकोले अहिलेकै क्षमतामा पनि राम्रै सँग चलाउन सकिन्छ,' बैठकमा सहभागी मन्त्रालयका एक अधिकारीले भने।

प्रकाशित: Jun 10, 2021| 09:04 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्