पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिँदै छन्। दिउँसो १२ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ।
आज सुरुमै मुख्यमन्त्री गुरुङले विश्वासको मत माग्ने, त्यसपछि दलका शीर्ष नेताले सम्बोधन गर्ने र विश्वासको मतको मत विभाजनको कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
गण्डकीमा ६० जना प्रदेश सभा सदस्य रहेकोमा विश्वासको मतको लागि ३१ मत आवश्यक पर्छ। अरु दलले साथ नदिने र एमालेसँग जम्मा २७ सदस्य रहेकोले मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन देखिएको छ। कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका तीन सांसद गरी ३२ जना सदस्य छन्।
उता राजीव गुरुङ (दीपक मनाङे) ले पनि साथ छोड्ने बताएका छन्। सरकार जोगाउनकै लागि आफू एमालेको आग्रहमा मन्त्री बने पनि अहिले सरकार पनि ढल्ने र प्रदेशसभा पनि विघटनको दिशामा गएकाले सत्ता पक्षको साथ छाड्ने निधोमा पुगेको उनले बताएका छन्।
आफू एकजनाका कारण संसद विघटनबाट जोगिन्छ भने सरकारलाई साथ दिइरहनुको औचित्य नभएको उनले बताए। मनाङे बुधबार साँझ भएको मन्त्रिपरिषद बैठकमा पनि सहभागी भएनन्।
उनलाई फकाउन मुख्यमन्त्रीको दुत बनेर गएका सांसद राजीव पहारीसँग उनले आफु प्रदेश सभा विघटनको विपक्षमा रहेको र जता ३१ मत पुग्छ उतै मतदान गर्ने बताएका थिए।