काठमाडौं- पछिल्लो समयमा उकालो लागेको सेयर बजार बुधबार भने १३ अंकले ओरालो लागेको छ। बुधबार ओरालो लागेको बजार करेक्सन मात्र भएको लगानीकर्ताहरूको बुझाइ छ।
एक वर्षको अवधिमा सेयर बजार १२२ प्रतिशत भन्दा बढीले उकालो लागेको छ। गत मंगलबारसम्मको नेप्सेलाई हेर्ने हो भने बजार करिव १२ महिनाको अवधिमा कुनै आधार विना नै बढीरहेको छ।
सेयर बजार कुनै पनि देशको समग्र अर्थतन्त्रको ऐना हो। तर, नेपालमा भने यो ऐनाले उल्टो गति समातेको छ। सम्पूर्ण अर्थतन्त्रका सुचकहरू ओरालो लागिरहेको समयमा सेयर बजार भने एक वर्ष भित्रमा नै दोब्बर भन्दा बढी अंकले बढ्नु आश्चर्यजनक भएको अर्थशास्त्रीहरुको भनाइ छ।
नेपाल मर्चेन्ट बैंक संघका अध्यक्ष मेखबहादुर थापा बजार कति अंकमा पुग्नुलाई बढी भन्ने र कति अंकसम्म घट्नेलाई कमी भन्ने भन्ने विषय लगानीकर्ता आफैले निर्धारण गर्ने बताउँछन्।
‘अहिलेको बजार कतिपयलाई अझ माथि जानुपर्ने होला तर कतिपयालाई घट्नुपर्ने होला। यो सबै किन्ने र बेच्ने लगानीकर्ताहरूको हातमा हो। तर, पछिल्लो समयमा बजार उकालो लाग्दा भने अचम्मित भएको छु', उनले भने।
तर, सेयरबजार विश्लेषक निरव पुणासैनी भने मर्चेन्ट बैंकहरूले कर्नरिङ गरेर अरुको रकममा कमिसन बढाउन लाग्दा बजारका सबै इन्डेक्सहरू स्थिर रुपमा नबढेको हुनसक्ने बताउँछन्। उनले पछिल्लो समयमा इन्साइडर ट्रेडिङ र कर्नरिङको काम फस्टाउँदा बजारका सव इन्डेक्सहरू अस्थिर भएको दावी गरे।
एक वर्षमा नै सेयर बजारले अंकमा छलाङ मारेको छ। यसरी अस्वाभाविक रुपमा सेयर बजार परिसुचकले छलाङ मार्दा नेपाल स्टक एक्सचेन्ज मुख दर्शक भएर बस्न नहुने बजार विश्लेषकहरू बताउँछन्।
नेपाल स्टक एक्सचेन्जका अनुसार गत २०७७ असार २५ गते १३३१.२७ अंकमा रहेको सेयर बजार २०७८ जेठ २५ गते आइपुग्दा बढेर २९६०.१४ अंकमा र पुगेको छ। एक वर्षमा नै सेयर बजारले अंकमा छलाङ मारेको छ। यसरी अस्वाभाविक रुपमा सेयर बजार परिसुचकले छलाङ मार्दा नेपाल स्टक एक्सचेन्ज मुख दर्शक भएर बस्न नहुने बजार विश्लेषकहरू बताउँछन्।
तर, नेपाल धितोपत्र बोर्डले भने बजार कारोबार र अंक दुवै अस्वाभाविक रुपमा बढ्नु सकारात्मक संकेत नभएको जनाएको छ। बोर्डका अनुसार कर्नरि इन्साइडर ट्रेडिङ जस्ता बदमासी गरेर बजार उकालो लागेको होकी भन्ने सोचेका कारण अध्ययन गर्नका लागि सहसचिवको संयोजकत्वमा समिति बनाएको छ।
लगानीकर्ता भने पछिल्लो समयमा सेयर बजारमा अनलाइन कारोबार पनि गर्न पाइने भएकोले विदेशमा बसेका नेपालीहरूले पनि यहाँको बजारमा लगानी गरेको र सोही कारण बजार उकालो लागेको दावी गर्छन्।
बजारमा पूर्णरुपमा स्वच्छ कारोबार भएकोमा नेपाल धितोपत्र बोर्ड नै विश्वस्त छैन।
'पहिले भन्दा अहिले बजार उकालो लाग्नुको कारण विदेशमा रहेका नेपालीहरूले पनि सेयर बजारमा लगानी गरिरहेका छन्। जसको असर बजारको अंक र कारोबारमा परेको हो। तर, ती सबै सेयर कारोबार स्वच्छ प्रकृतिका छन् भन्ने ग्यारेन्टी म लिन सक्दिन,' नेपाल लगानीकर्ता संघकका अध्यक्ष छोटेलाल रौनियारले भने।
बजारमा पूर्णरुपमा स्वच्छ कारोबार भएकोमा नेपाल धितोपत्र बोर्ड नै विश्वस्त छैन। बोर्डमा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तिय संस्था अनुगमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट पनि सन्चालक छन्।
उनैको विशेष पहलमा अध्यक्ष भिष्मराज ढुंगानाले बजार बारे अध्ययन गर्नका लागि समिति बनाएका छन्। सो समितिले अध्ययन गरेर मौद्रिक नीति अगावै सञ्चालक समितिमा प्रतिवेदन पेश गर्नेछन्।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीति ल्याएर बजारमा कडाइ गर्ने गरी अध्ययन भइरहेको नेपाल धितोपत्र बोर्डका एक अधिकारीले जानकारी दिए। आगामी मौद्रिक नीतिले सेयर बजारलाई कडाई गर्ने खालका नीतिहरू अवलम्वन गर्ने उनले बताए।