काठमाडौं- भारतको पतञ्जलि योगपीठले कोरोना भाइरसविरुद्धको रोकथाम र नियन्त्रणका लागि भन्दै नेपाललाई दिएको ‘कोरोनिल किट’ प्रयोग नगरिने भएको छ।
आयुर्वेद विभागले कोभिड-१९ विरुद्धको उक्त वैकल्पिक चिकित्सा औषधि नेपालमा दर्ता नभएको भन्दै प्रयोग नगर्ने जनाएको हो।
विभागमा महानिर्देशक डा. वासुदेव उपाध्यायले प्रक्रिया नपुर्याएर ल्याएको हुनाले अहिले तत्काल उक्त कोरोनिल किट प्रयोग नगर्ने जानकारी दिए।
‘आपतकालीन औषधि प्रयोग गर्नका लागि नेपालमा प्रक्रिया पुर्याउनु पर्दछ’, उनले भने, ‘तर पतञ्जलि योगपीठले उक्त औषधि प्रक्रिया नपुर्याइकन ल्याएको हुनाले तत्काल प्रयोग गर्दैनौँ।’
उनका अनुसार उक्त किटमा अनुतेल, श्वासरी ट्यावलेट र कोरोना ट्यावलेट गरी तीन प्रकारका औषधि छन्। उनले किटमा रहेका औषधिको अध्ययन गर्दा कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सक्ने रहेको बताए। ‘हामीले विज्ञ राखेर औषधि के–के मिश्रणबाट बनेको भनेर अध्ययन गर्यौँ’, उनले भने, ‘अध्ययनबाट औषधिले कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सहयोग गर्दछ।’
उनले औषधिले श्वासप्रश्वासमा फाइदा, ज्वरो र रुघाखोकी नियन्त्रण र रोगसँग लड्न क्षमता बढाउने (इम्युनिटी पावर) सक्ने बताए। नेपालस्थित पतञ्जलि योगपीठले भारतबाट एक हजार ६०० कोरोनिल किट ल्याई सरकारलाई कोरोना भाइरस रोकथामका लागि उपलब्ध गराएको थियो।