काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्दामा अदालतलाई सहयोग गर्न चार सदस्यीय एमिकस क्युरीको माग गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको संवैधानिक इजलासले सर्वोच्च अदालत बार र नेपाल बार एसोसिएसनबाट २–२ जना गरी ४ सदस्यीय एमिकस क्युरीको माग गरेको हो।
एमिकस क्युरीको अर्थ ‘अदालतको सहयोगी भन्ने लाग्छ। महत्त्वपूर्ण मुद्दामा मुद्दाका पक्ष विपक्ष कतै नभए तापनि त्यसको सरोकारवाला रहेका, सामान्यतया कानुनविद्हरूको समूह गठन गर्ने गरिन्छ जसले अदालतलाई उक्त मुद्दामा आफ्ना रायसल्लाह दिन सक्छ।
नेपालमा एमिकस क्युरीको प्रचलन पहिले पनि भएको छ। विगतमा संसद् विघटनका मुद्दामा पनि सर्वोच्च अदालतले एमिकस क्युरी गठन गरेको थियो।
सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को परिच्छेद ५ मा यसको व्यवस्था गरिएको छ। संवैधानिक इजलासले आफूसमक्ष विचाराधीन कुनै मुद्दाको प्रकृति र गम्भीरतालाई विचार गरी कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेका कानुनको प्राध्यापक, कानुन व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पुर्याएको कुनै व्यक्तिलाई इजलासको सहयोगी (एमिकस क्युरी) का रुपमा झिकाई निजको राय लिन सक्ने व्यवस्था नियमावलीमा छ। यसरी झिकाइएका व्यक्तिले इजलासमा उपस्थित भई सम्बन्धित विषयमा आफ्नो तटस्थ राय प्रस्तुत गर्नुपर्नेछ।
संवैधानिक इजलासले एमिकस क्युरीका चारै सदस्यलाई बहस नोट पेस गर्नका लागि असार १० सम्मको सीमा दिएको छ। यस्तै निवेदक र प्रत्यर्थीतर्फका सबै कानुन व्यवसायीले पनि असार १० भित्र बहस नोट पठाउनुपर्नेछ।
नेपालमा एमिकस क्युरीको प्रचलन पहिले पनि भएको छ। विगतमा संसद् विघटनका मुद्दामा पनि सर्वोच्च अदालतले एमिकस क्युरी गठन गरेको थियो। पुस ५ मा भएको प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका क्रममा पनि अदालतले एमीकस क्युरी मागेको थियो।