मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'अमेरिका जाने मन छ नि क्यार्नु, मान्छे महामारीले घान हुन लाग्याका छन्'

'अमेरिका जाने मन छ नि क्यार्नु, मान्छे महामारीले घान हुन लाग्याका छन्'

त्यतिबेला गाउँमा स्कुल थिएन। पढ्नुपर्छ भन्ने थाहा पनि भएन। १२ वर्षको उमेरमै भेडासँग हिँड्न लागेका दुई दाजुभाइ भेडासँगै जीवन बिताउन थाले।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

बझाङ- हुम्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साइपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले ७६ वर्ष पुगे। हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडिको बझाङ सदरमुकाम चैनपुर सम्झँदै उनी भन्छन्, 'चैनपुरमा औँलामा गन्ने घरहरु थिए। पाठा लिएर आउँदा, पाठा देउ जग्गा लेउ भन्थे। के गर्ने त्यो बेला भेडाबाख्रालाई हामीले ठूला मान्यौं, त्यो बेला वुद्धि भएन। नत्र जग्गासँग पाठा साटेको भए, आधा चैनपुर हुन्थ्यो होला।'

उनका अनुसार त्यतिबेला चैनपुरका धनी भनेकै हरिसाहु थिए। उनका दुई वटा घर थिए। उनलाई एक भेडा रु. ५० देखि एक सयसम्ममा बिक्री गर्थे मनबहादुर। लाग्छ त्यतिबेलाको एक सय ठूलो थियो। अहिले १ सय ५० भेडा बिक्री गरेपछि १९ देखि २० लाख रुपैयाँ आउँछ, त्यसले पनि केही हुँदैन। 

त्यतिबेला गाउँमा स्कुल थिएन। पढ्नुपर्छ भन्ने थाहा पनि भएन। १२ वर्षको उमेरमै भेडासँग हिँड्न लागेका दुई दाजुभाइ भेडासँगै जीवन बिताउन थाले। मनबहादुरले भने, 'म हुम्लाबाट बझाङ आउँदा शुरुमा १८ पाठा थिए। हुदाँहुँदै कुनै बेला ११ सय बाख्रा, खसी, भेडाका छुट्टाछुट्टै गोल र आठ-नौ जना ग्वाला (हेर्ने मान्छे) भए। साथमा तीन चार वटा कुकुर पनि थिए। धनगढी र महेन्द्रनगर, डडेलधुरालगायत ठाउँबाट सामान ल्याउँथे। त्यतिखेर यातायातका साधन नै थिएनन्।

खच्चर धेरै समयपछि आएको महतको भनाइ छ। उनले भने, 'त्यतिबेला भेडामा सामान हुन्थ्यो । गाउँ नजिकै बाटोमा डेरा बसाल्थ्यौं। गाउँले दाजुभाइहरुले माया गर्थे। अहिले भेडावाला भन्ने वित्तिकै गाली गर्छन्। अब त बुढो भयौं, तागत छैन। हिँड्दा हिँड्दै खुट्टा लट्पटिन्छन्। अब सकिँदैन, विस्तारै घटाउनुपर्छ।' भेडाकै खर्चबाट छोरा अफितलाई डिग्री पढाएको बताउने उनले छोरा अमेरिका जाँदा रु. ९ लाख पठाए। अहिले छोरा अमेरिकामा नै छन्।

'छोराले उतै विवाह गराे। फोन गरेर कहिले काहीँ भेडा बेचेर घर आउ भन्छ। घरपरिवार सबैलाई भेडाकै खर्चबाट पालन पोषण गरें। अहिले पनि घरमा ११ जनाको परिवार छ। श्रीमति वितेको भने केही वर्ष भयो। आफ्नो जिन्दगी भने दुःख गर्दै खायो। उहिलेका दुःख सम्झँदा छोराछोरीलाई सुख छ। तागत त छैन नि सम्पति देख्दा माया लाग्छ। मलाई एक भेडा बेच्दा पुगिहाल्यो।'

मनबहादुरले थपे, 'अब एकचोटी मर्नुभन्दा अगाडि अमेरिका घुम्ने मन छ। छोराले पनि अमेरिका लिन्छु भन्या छ। तर क्या अर्नु देशभरी यस्तै छ। मान्छे माहामारीका कारण घान हुन लाग्याका छन्। बाँच्या पछि अमेरिका हेर्न जान्या रहर थियो। न तत्र सकियो।'

–रमेश केसी / रासस
    

प्रकाशित: Jun 09, 2021| 13:05 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।