विराटनगर- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिडका नाममा छुट्याएको ५० करोडको हिसाव माग गरेको छ। प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि छुट्याएको ५० करोडको हिसाव खोई भन्दै प्रश्न गरेको छ।
प्रदेश १ सभाको आठौं तथा बजेट अधिवेशनमा बुधबार विशेष समय लिएर बोल्दै कांग्रेस प्रमुख सचेतक कार्कीले कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकारले काम गर्न नसकेको बताए।
कोभिडलाई प्रदेश सरकारले विपत भनेर बुझ्न नसकेको उनको आरोप छ। प्रमुख सचेतक कार्कीले कोभिड नियन्त्रणका सवालमा सोमबार मुख्यमन्त्री शेरधन राईले दिएको जवाफ सवै झुटो भएको उनको दावी छ। मुख्यमन्त्री राईले प्रदेशसभामा उभिएर सधैं झुट बोल्ने गरेको भन्दै उनले आपत्ति प्रकट गरे।
प्रमुख सचेतक कार्कीले भने, ‘निजी क्षेत्रले निर्माण गरेको नागरिक केयर सेन्टर प्रदेश सरकारले बनाएको भन्नु झुटो कुरा हो।’ जनतालाई सरकारको आवस्यकता परेका बेला सरकार जहिल्यै हराउने गरेको उनले बताए। कार्कीले भने, ‘जनतालाई मल चाहियो सरकार छैन, जनतालाई कोभिडको उपचार चाहियो सरकार छैन।’ कोरोना संक्रमितलाई निजी अस्पतालहरूले चर्को मूल्य लिए पनि सरकार मुकदर्शक बनेको उनको आरोप छ।
प्रदेश र संघीय सरकार अपराधीहरूको झुण्ड भएको गम्भीर आरोप लगाउँदै कार्कीले भने, ‘अस्पताल नपाएर जनता मरेका छन्, उपचारको प्रबन्ध छैन, खान पाएका छैनन् सरकार चाहिँ मस्तीमा छ। यो अपराध हो।’
प्रदेशसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले प्रदेशको नामकरण बारे मुख्यमन्त्रीले यसअघि नै सहमति भएको भनेर दिएको अभिव्यक्तिको निर्णय कपी सदनमा पेश हुनुपर्ने बताए।