विराटनगर- मोरङको बेलबारीबाट कारभित्र हतियार राखेर केराबारी पुगेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ।
एउटा कटुवा पेस्तोल र पाँच राउण्ड गोलीसहित बेलबारी नगरपालिका-२ का ४१ वर्षीय पदमकुमार लिम्बूलाई प्रहरीले मंगलबारसाँझ पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा पिछा गर्दै गएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज खनाल नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय केराबारीको सहयोगमा पदमकुमारलाई नियन्त्रणमा लिएको हो।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले पदमकुमारले चलाएको को१च ८३६८ नम्बरको कारभित्र पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोली फेला परेको जानकारी दिए। उनका अनुसार केराबारी गाउँपालिका-९ कुसुमेमा रहेका आफन्त गणेशबहादुर लिम्बूको घरनजिक रोकेर राखेको कारभित्र पेस्तोल र गोली बरामद भएको हो। गणेशबहादुरलाई पनि प्रहरीले पक्राउ गरि सोधपुछ गरिरहेको छ।
कारभित्र पेस्तोल र गोली राखेर गणेशबहादुरको घरमा पुगेका बेला पदमकुमार पक्राउ परेका हुन्। कारभित्र हतियार राखेर हिँड्ने र सर्वसाधारणलाई धम्क्याउने गरेको सूचना आएपछि प्रहरीले उनको खोजी थाल्दै पिछा गरेको थियो।