काठमाडौं- फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना र कोलम्बिया २–२ गोलको बराबरीमा रोकिएका छन्।
कोलम्बियाको स्टेडियो मेट्रोपोलिटानोमा सम्पन्न खेलमा पाहुना टिमका क्रिस्टियन रोमेरो र लियन्ड्रो परेड्सले गोल गरेका थिए। उनीहरूले खेलको आठ मिनेटभित्रै दुई गोल गरेपछि पहिलो हाफमा अर्जेन्टिना दुई गोलले अघि रह्यो।
यता दोस्रो हाफको ५१औं मिनेटमा कोलम्बियाका लुइस फ्रुटोले पेनाल्टीमार्फत् गोल गरेपछि खेलको नतिजा १–२ गोलअन्तर बनेको थियो। तर, खेलको चोटिल समयमा कोलम्बियाका मिगल बोर्जाले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा रोकिन पुग्यो। यो बराबरीसँगै १२ अंक बनाएको अर्जेन्टिना दोस्रो स्थानमा छ भने आठ अंक भएको कोलम्बिया पाँचौ स्थानमा छ।
त्यस्तै, आज बिहान भएको अर्को खेलमा भेनेजुएला र उरुग्वे गोलरहित बराबरीमा रोकिएका छन्। भेनेजुएलाको ओलम्पिको डी ला रंगशालामा सम्पन्न खेलमा भेनेजुएला र उरुग्वेले बराबरी खेलेका हुन्।
खेलमा दबाब बनाए पनि उरुग्वेले गोलका लागि थोरै अवसर बनाउन सक्यो। उसले भेनेजुएलाको पोस्टतर्फ ७ प्रहार गर्न गरेको थियो। यता भेनेजुएलाले भने उरुग्वेको पोस्टतर्फ १४ प्रहार गरेको थियो।
दक्षिण अमेरिकी छनोटमा अहिले ब्राजिल र पराग्वे प्रतिस्पर्धा गरिरहेका छन्। ब्राजिल समूहको शीर्षस्थानमा छ भने उरुग्वे चौथो स्थानमा छ। त्यस्तै, भेनेजुएला नवौं स्थानमा छ।