काठमाडौं– सोमबार बिहान काठमाडौंको बौद्धमा बोरामा पोका पारेर फालेको अवस्थामा मानिसको एउटा खुट्टा फेला परेपछि प्रहरीले त्यसको अनुसन्धान गरिरहेको छ। यद्यपि, ३६ घण्टा बित्दासम्म पनि कुनै ‘क्लु’ फेला पर्न सकेको छैन।
मान्छेको खुट्टा कसले किन र कहिले फालेको थियो भन्नेबारे अहिलेसम्म कुनै तथ्य प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ। फेला परेको खुट्टा महिला वा पुरुष कसको हो भन्नेसमेत खुलेको छैन। त्यो पत्ता लगाउन परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ।
घटनाबारे बुझ्न महानगरीय प्रहरी वृत्त बौद्धका साथैै महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा नयाँ बानेश्वरका अधिकारीहरु घटनास्स्थल पुगेका थिए। महानगरीय अपराध महाशाखाका प्रमुख एसपी चन्द्रकुवेर खापुङले हत्याराले निकै चलाखीपूर्वक हत्या गरी खुट्टाको भाग त्यहाँ फालेको बताए। ‘खुट्टाको डीएनए रिपोर्ट नआएसम्मम केही भन्न सकिने अवस्था छैन। अहिलेसम्म खुट्टा महिला वा पुरुष कसको हो भन्नेसमेत पहिचान हुन सकेको छैन। रिपोर्ट आएपछि अनुसन्धानले गति लिन्छ,’ उनले भने।
फोहोरको थुप्रोमा खुट्टा राख्दा आगोसँगै जलोस् भन्ने मनसायले हत्याराले त्यहाँ राखेको हुनसक्ने खापुङले बताए। उनका अनुसार फरेन्सिक डाक्टरले चार–पाँच दिनअघि हत्या भएको हुन सक्ने बताएका छन्। ‘शव पहिचानका लागि एक महिनादेखि हराइरहेका र बेपत्ता भएका मानिसको विवरण संकलन गरिरहेका छौं। फरेन्सिक रिपोर्टपछि केही क्लु मिल्छ कि?’ अपराध महाशाखा प्रमुख खापुङले भने।
सोमबार बिहान करिब सात बजे ‘बोरामा मान्छेको खुट्टा भेटियो’ भन्दै बौद्धबाट फोन आएको थियो। स्थानीय एक महिलाले फोहोेर फाल्ने ठाउँमा खुट्टाको घुँडामुनिको भाग देखेकी थिइन्। बोरामा हालिएको उक्त खुट्टा जलेको अवस्थामा थियो।
महानगरीय प्रहरी परिसर बौद्धका डीएसपी नवीन कार्कीका अनुसार बौद्धकी महिलाले बिहान दुबोे टिप्न जाने बेला जलेको खुट्टा देखेकी थिइन्। त्यसपछि लगत्तै बौद्ध प्रहरी घटनास्थल पुगेर सिल गरी अनुसन्धान सुरु गरेको थियो। ‘घटनास्थलमा मान्छेको खुट्टाकोे घुँडामुनिको भागबाहेक अन्य केही क्लु भेटिएन। पोलेको खुट्टाको प्रकृति हेर्दा केही दिनअघिकै घटना हो जस्तो लाग्छ,’ डीएसपी कार्कीले नेपाल समयसँग भने।
घटनाको अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुरको प्रयोेग गरेको उनले बताए। तर, कुकुरले पनि केही क्लु भेटाउन सकेको छैन। घटना भएको करिब एक साता हुन लागेको अनुमान प्रहरीले गरेको छ। हत्याराले निकै चलाखीपूर्ण तरिकाले हत्या गरी शव ठेगान लगाउने काम गरेको प्रहरीको ठहर छ। शवको पहिचान नभएपछि प्रहरीले कोही हराएको भए खबर गर्न आग्रह गरेको छ।