काठमाडौं- विभिन्न जिल्लामा लागू गरिएको निषेध आदेश उल्लंघन गर्ने ३ हजार १ सय ८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विगत २४ घण्टायता नियन्त्रणमा लिइएका ती सवारी साधनमध्ये ९ सय ७० वटा गाडी र २ हजार २ सय १० वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ।
नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ सय ६५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ। कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५३ हजार ९ सय ८१ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ७७ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ५९ हजार १ सय रुपैयाँ जरिवाना गरिएको छ। सो क्रममा ४ हजार ५३ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ।
साथै देशभर सञ्चालित ८२ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ६ हजार १ सय ९ जनालाई सचेत गराइएको जानकारी प्रहरीले दिएको छ।