बुटवल– लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले संविधान विपरीत काम गरेको भन्दै विपक्षी दलका सांसदहरुले प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममा सहभागी नभएर विरोध जनाएका छन्।
प्रदेश सरकारको आर्थिक वर्ष ०७८–७९ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवले प्रदेश सभामा प्रस्तुत गरिरहेका छन्। तर, विपक्षी दलका चार जनाबाहेक सबै सांसद भने प्रदेश प्रमुखलाई बहिष्कार गरेर बैठक स्थल बाहिरै बसेका छन्।
प्रदेश प्रमुख यादवले अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोखरेललाई नियुक्ति गरेको, पदीय मर्यादा विपरित सांसदहरुमाथि लाठी चार्ज गराएर मुख्यमन्त्री कार्यालयमा पुगेर शपथ गराएको लगायत विरोधमा प्रदेशसभामा प्रमुखको बहिष्कार गरेका हुन्। सांसदहरु उपस्थित नभए पनि दलको भने समर्थन जनाउँदै चार दलका चार जना प्रमुख सचेतक बैठकमा सहभागी छन्।
प्रदेश प्रमुखले संसदीय मर्यादा कायम गर्न नसकेकाले आफूहरुले संसदमा सम्मान गर्न नसकेको नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री सुदर्शन बरालले बताए। उनले आफूहरुले शुरुदेखि नै संविधानको रक्षक प्रदेश प्रमुखले संविधान विपरित काम गरेकाले शान्तिपूर्ण विरोध जनाउँदै बाहिरै बसेको बताए। नीति तथा कार्यक्रमको छलफलमा भने आफूहरु सहभागी हुने सांसद बरालले बताए।
प्रदेश प्रमुख यादवले प्रदेशसभाको मर्यादा कायम नगरी महिला सांसदमाथि दुर्व्यवहार गर्दै मुख्यमन्त्री नियुक्ति गरेकाले प्रमुखलाई बहिष्कार गरिएको नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले बताइन्।
उनले भनिन्, ‘सरकारले विपक्षीले संसद अवरुद्ध गरे अध्यादेशबाट बजेट ल्याउने सोचेको छ, त्यसैले हामीले संसदीय मर्यादा कायम राख्दै प्रदेश प्रमुखलाई बहिष्कार गरेका हौं।’ उनले नीति तथा कार्यक्रम र बजेट जनताको जीवनसँग जोडिने भएकाले संसदमा प्रस्तुत हुन भने अवरोध नगर्ने बताइन्। सरकारले विश्वासको मत नलिई नीति तथा कार्यक्रम र बजेट ल्याएकोमा समेत आफूहरुको विरोध रहेको माओवादी केन्द्रका सांसद पार्वती पुन गहतराजले बताइन्।
प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका सचेतक फकरुद्धिन खान, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती, जसपा नेपालका प्रमुख सचेतक पूमर्ती ढेंगा र राष्ट्रिय जनमोर्चाका तारा जिसिको मात्र सहभागिता छ।