काठमाडौं- सुदूरपश्चिमका प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। उनले आज बिहान ९ बजे विश्वासको मत लिन लागेका हुन्। त्यसका लागि मुख्यमन्त्री भट्टले आइतबार नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको सचिवालयले जनाएको छ।
प्रदेश सभाको नियम अनुसार पत्र दर्ता गरेको ४८ घण्टा पुग्नुपर्ने हुन्छ। सोमबार नै विश्वासको मत लिने तयारी भए पनि नियम अनुसार समय नपुगेकाले मंगलबारका लागि सारिएको थियो। मुख्यमन्त्री भट्टका स्वकिय सचिब शिव ओलीले आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले बिश्वासको मत लिने बताए।
नेकपा एमाले स्थायी कमिटीले जेठ १० गते नै सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर, जेठ १२ गते बसेको नेकपा एमाले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई रहेको समर्थन कायम राख्ने निर्णय गरेको थियो।
केही दिनअघि मात्रै एमाले र माओवादीका तर्फबाट सरकारमा मन्त्रीसमेत थपिएका छन्। नेकपा एमाले भित्रको केपी ओली समूहले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता भइसकेको बताउँदै आएको छ भने माधवकुमार नेपाल समूहले समर्थन कायमै रहेको भन्दै मन्त्रीसमेत थपेको छ।
हाल सभामुखसहित ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन आवश्यक पर्छ। एमाले माधव नेपाल समूहको दरिलो साथ भएकाले मुख्यमन्त्री भट्टलाई विश्वासको मत सहजै प्राप्त हुने अवस्था रहेको सांसदहरूले बताएका छन्।
माओवादी केन्द्रका १३ जना सदस्य छन्। सभामुखबाहेक एमालेका २४ जना सदस्य छन्। पछिल्लो समयमा एमाले सांसदहरू अध्यक्ष ओली र नेपाल समूहगरी दुई धारमा बाँडिएका छन्। तर, नेपाल पक्षमा बहुमत सदस्य छन्। नेपाल समूहले आफ्नो पक्षमा १५ जना भन्दा जना भन्दा बढी प्रदेश सभा सदस्य रहेको दाबी गरेको छ।
यता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग पनि मुख्यमन्त्री भट्टले विश्वासको मत दिलाउन छलफल गरिरहेका छन्। आज प्रदेश सभा बैठक अघि नै कांग्रेससँगको छलफल सम्पन्न हुने र कांग्रेसले पनि आफ्नो पक्षमा विश्वासको मत दिने मुख्यमन्त्रीको भनाई छ। मुख्यमन्त्रीका स्वकिय सचिब शिव ओलीले कांग्रेससँग छलफल भइरहेको तर निष्कर्षमा पुग्न नसकिएको बताए।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदिय दलका नेता रणबहादुर रावलले छलफल भइरहेको बताए। केन्द्रीय राजनितिको समिकरण अनुसार कांग्रेसले माओवादी केन्द्रबाट नेतृत्व गरिरहेका मुख्यमन्त्रीलाई विश्वास मत दिने संकेत रावलको छ।