काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको प्रस्तावमा अल्मल्याउने भाषा भएको उल्लेख गरेका छन्। नेता नेपालले आफूले मनपरी गर्ने र अरुलाई उपदेश दिनुको कुनै तुक नभएको भन्दै पार्टीमा रचनात्मक सुधारसहितको योगदानका लागि ओली आफैँबाट सुरुवात हुनुपर्ने समेत बताएका छन्।
ओलीले आइतबार जारी गरेको प्रस्तावका विषयमा प्रेस वक्तव्य जारी गर्दै नेता नेपालले यस्तो बताएका हुन्। 'अहिले उहाँबाट भनिएको "रचनात्मक योगदान" सर्वप्रथम उहाँबाटै आरम्भ हुनु उपयुक्त हुनेछ। अन्यथा आफूले मनपरी गर्ने र अरुलाई उपदेश दिने कुराको कुनै उपादेयता रहँदैन,' नेता नेपालले जारी गरेको वक्तव्यमा उल्लेख छ।
नेता नेपालले प्रतिनिधि सभाको असंवैधानिक विघटनको जिम्मेवारी लिएर विघटनको निर्णय फिर्ता गरे विवादको अन्त्य हुने समेत उल्लेख गरेका छन्।
'समग्रमा पार्टी अध्यक्ष ओलीबाट अगाडि सारिएका कुराहरु पार्टीको एकतालाई अक्षुण्ण राख्न नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र पार्टी विधान तथा सर्वोच्च अदालतको फैसलाको अन्तर्य अनुरुप छैनन्,' वक्तव्यमा उल्लेख छ, 'उहाँ (ओली)को वक्तव्यमा प्रयोग गरिएको भाषा र बुदाहरु केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिन्छ।'
अध्यक्ष केपी ओलीको वक्तव्यको भ्रममा नपरी सशक्त रुपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्नसमेत नेपालले आग्रह गरेका छन्।
नेपालको वक्तव्यको पूर्णपाठ