जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका मन्त्री तथा राज्यमन्त्रीहरुलाई बर्खास्त गरेपछि सोमबार बसेको प्रदेशसभा बैठक महन्थ–राजेन्द्र पक्षका प्रदेशसभा सदस्यहरुले बैठक बहिष्कार गरे।
जसपाको उपेन्द्र यादव पक्षधर मुख्यमन्त्री राउतले महन्थ-राजेन्द्र पक्षलाई बाइपास गरी अन्य दलसँग गठबन्धन गर्न लागेको भन्दै उनीहरुले बैठकको बहिष्कार गरे। पूर्व राजपा पक्षका प्रदेशसभा सदस्यहरुको बैठक बसेरै प्रदेशसभा बैठक बहिष्कार र सरकारको आगामी गतिविधिको आधारमा समर्थन वा बिरोध गर्ने निर्णय गरेको छ।
बैठकमा सहभागी महन्थ–राजेन्द्र पक्षका जसपाका सचेतक परमेश्वर साहले तत्कालीन समाजवादी पार्टी र तत्कालीन राजपा पार्टी अस्तित्वमा नरहेको समयमा गुटगत हिसाबले मुख्यमन्त्री राउत अगाडि बढिरहेको आरोप लगाए।
उनले पार्टीभित्र २ खेमा रहे पनि आधिकारितको लडाइँ सर्वोच्चसम्म पुगेको र सर्वोच्च अदालतबाट आफूहरुकै पक्षमा निर्णय आउने विश्वास व्यक्त गरे। हामी अहिले पार्टीको आधिकारिकता सम्बन्धमा आउने निर्णयको प्रतिक्षामा छौँ, साहले भने।
उनले भने ‘अहिले मुख्यमन्त्रीजीका लागि हामीहरु प्रिय छैनौं, कांग्रेस र माओवादी प्यारो भएको छ।’ अगाडि भने ‘तर सर्वोच्च अदालतको निर्णय हाम्रो पक्षमा आउनेमा विश्वस्त छौँ त्यसपछि पछाडि हट्नु पर्छ।’