काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टिका नेता वामदेव गौतमलाई आफ्नो पक्षमा आउनका लागि प्रस्ताव पठाएका छन्। सोमबार साँझ अध्यक्ष ओलीले आफ्नो प्रस्तावसहित उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत रहेका रघुवीर महासेठलाई वामदेव निवास भैँसेपाटी पठाएका हुन्।
उपप्रधानमन्त्री महासेठ वामदेव निवास पुगेको वामदेव निकट स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओलीले आइतबार आफू पार्टीलाई २०७५ जेठ ३ मा फर्काउन तयार भएको तर आफूविरुद्ध सर्वोच्चमा दायर भएको रिट निवेदन फिर्ता लिनुपर्ने शर्त राखेका थिए।
उक्त प्रस्तावमा एमालेको माधवकुमार नेपाल पक्ष सहमत नभएपछि नेता गौतमलाई फकाउन ओलीले महासेठलाई पठाएका हुन्। पछिल्लो समय वामदेव एमाले एकताका लागि भन्दै कुनै पनि पक्षमा सहभागी भएका छैनन्। ओली पक्ष भने उनलाई फकाउन विगतदेखि नै प्रयास गर्दै आएको छ।