काठमाडौं- महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक खड्का कारबाहीमा परेका छन्।
खड्काले आफ्नो कार्य क्षेत्रमा आर्थिक अनियमितता गरेको र कार्यसम्पादन मुल्यांकन कमजोर भएको भन्दै महानगरीय प्रहरी प्रभाग रानीपोखरीले खड्कालाई कारबाही गरेको हो।
‘खड्काले आफ्नो कार्य क्षेत्रमा आर्थिक अनियमितता गरेकोे जनगुनासो आएपछि स्पष्टीकरण मागेर कारबाही गरिएको हो, उनलाई नसियतसहित कारबाही गरिएकोे छ’, महानगरीय प्रहरी प्रभाग रानीपोखरीका एसपी तथा प्रवक्ता सुशील सिंह राठौरले भने।
डिएसपी खड्कालाई कार्य क्षेत्रबाट हटाएर पहिलो कारबाही गरिएको छ भने नसियत दिएर दोस्रो कारबाही गरिएको छ।
खड्कामाथि आर्थिक अनियमितता, सर्वसाधारणसँगको खराब व्यवहार तथा ढिलोसम्म व्यवसाय खुल्न दिएको आरोप छन्।
‘डिएसपी दीपक खड्काविरुद्ध व्यापक मात्रामा जनगुनासो आएपछि महानगरीय प्रहरीले अनुसन्धान गरी कारबाही गरेको हो’ प्रवक्ता राठौरले नेपालसमयसँग भने।
खड्कामाथि लगाइएका आरोपको छानबिन गर्न प्रहरी उपरीक्षकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। नसियत कारबाहीमा परेका प्रहरी अधिकृतको बढुवा प्राथमिकतामा नपर्नुका साथै मिसन, विशेष तालिम तथा विदेश भ्रमणमा नपर्ने राठौरकोे भनाइ छ।
खड्कालाई कारबाही गरिएको भए पनि उनले चित्त नबुझे र आफू सद्दे भए पुनरावेदन दिनसक्ने उनी बताउँछन्। कारबाहीमा परेपछि खड्कालाई महानगरीय प्रहरी परिसर तानिएको छ। डिएसपी खड्काले महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा काम गरेको १३ महिना भएको थियो।