काठमाडौं- नेकपा (एमाले)को माधव नेपाल– झलनाथ खनाल समूहले संसद् विघटन कायमै राखेर अदालतको मुद्दा फिर्ता हुने कुरा असान्दर्भिक रहेको निष्कर्ष निकालेको छ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेपछि त्यसबारेमा छलफल गर्न आज बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो।
‘संसद् विघटन फिर्ता भएपछि स्वतः मुद्दा फिर्ता भइहाल्छ। विघटन कायमै राखेर अदालतको मुद्दा फिर्ता हुने कुरा असान्दर्भिक छ,’ बैठकपछि स्थायी कमिटी सदस्य भीम आचार्यले भने, ‘अस्तिदेखि नै हामीले यो विषयमा प्रष्ट पारिसकेका छौं।’
उनले पार्टी अध्यक्षले सार्वजनिक गरेको व्यक्तव्यमा कतिपय असान्दर्भिक र नमिलेका कुराहरु यथावत् नै रहेको बताए। ‘जेठ २ जानुपर्छ भनेकोमा जेठ ३ गतेपूर्व भनेर माओवादीबाट आएकालाई प्राथमिकतामा राखेर एकीकरणका अरु कुराहरु गर्ने भन्ने खालको भाषा उल्लेख गरेको देखिन्छ,’ उनले भने,‘ यी अस्पष्टताका बारेमा केही उल्लेख गरेको देखिएन।’
कारवाही नगर्ने भनिए पनि कारवाही गरिएका नेताहरुका विषयमा केही प्रष्ट उल्लेख नभएको उनले बताए। ‘हामीले पहिले नै ६ बुँदे प्रस्ताव अघि सारेका छौं। त्यसमा थप केही कुराहरु उल्लेख गरेर आफ्नो धारणा सार्वजनिक गर्छौं,’ उनले भने,‘ उहाँले प्रस्ताव सार्वजनिक गर्नुभो, हामीले पनि हाम्रो सार्वजनिक व्यक्तव्य जारी गर्छौ।’
अध्यक्ष ओलीले राष्ट्रिय महाधिवेशन लगायत आगामी दिनमा पार्टीलाई विधि, विधान अनुसार कसरी अगाडि बढाउने भन्ने कुरा पनि प्रष्ट नपारेको बैठकले निष्कर्ष निकालेको छ।