जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराएर मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन्। मन्त्रीमण्डलमा एक मन्त्री र केही राज्यमन्त्रीलाई आजै सहभागी गराएर पुनर्गठन गर्ने तयारी गरिएको बताइएको छ।
जसपाको महन्थ–राजेन्द्र पक्षका एक मन्त्रीसहित ३ राज्यमन्त्रीलाई बर्खास्त गरेपछि मुख्यमन्त्री राउत कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सामेल गराएर मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी गरेका हुन्। एक मन्त्रीका अनुसार आजै साँझ एक मन्त्री र केही राज्यमन्त्रीको शपथ ग्रहण समेत हुन सक्छ।
मन्त्रीमण्डलमा दुवै दललाई सामेल गराउन कार्यदल बनाएरै छलफललाई तीव्रता दिइएको छ। कार्यदलमा मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साह रहेका छन्।
यता कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादवलाई सम्पूर्ण जिम्मेवारी दिइए पनि कार्यदलमा सचेतक उपेन्द्र कुश्वाहा, शिवचन्द्र चौधरी र वीरेन्द्र सिंह रहेका छन्। स्रोतका अनुसार कांग्रेसको तर्फबाट रामसरोज यादवलाई आजै सरकारमा सामेल गराउने सम्भावना प्रबल छ।
प्रदेशसभा बैठक सम्पन्न भएलगत्तै मन्त्रीमण्डल पुनर्गठन र शपथ ग्रहण गराउने तयारी गरिएको स्रोतले जनाएको छ। प्रदेश २ को नीति तथा कार्यक्रम र बजेट आएपछि मन्त्रीमण्डल थप विस्तार गर्ने तयारी मुख्यमन्त्री राउतको रहेको बताइएको छ।
यता माओवादी केन्द्रसँग समेत छलफल अगाडि बढाइए पनि सरकारमा कुन कुन मन्त्रालय दिने विषयमा खासै कुरो अगाडि बढ्न नसकेको संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए। यद्यपि नेपाली कांग्रेस र माओवादी केन्द्र लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको एक मन्त्रीले बताए।