काठमाडौं- विभाजनको संघारमा पुगेको सत्तारुढ नेकपा एमालेको एकतालाई बचाउन स्थायी कमिटी सदस्य भीम आचार्यले प्रथम पुस्ताका नेताहरूलाई नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्न मध्यमार्गी प्रस्ताव अघि सारेका छन्।
‘कमरेड केपीशर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र अमृत बोहोरा जस्ता प्रथम पुस्ताका नेताहरूले पार्टीको सम्मानित अविभावकत्व ग्रहण गरी नेतृत्व दोस्रो पुस्ता लाई हस्तान्तरण गर्नुस्,’उनले भनेका छन्।
उनले नेकपा (एमाले)को पार्टी एकता गम्भिर संकटमा परेको र विवाद र संकटले लोकतन्त्र र क्रान्तिका सबै उपलब्धिहरू संकटमा परेको बताएका छन्।
‘राष्ट्रिय अखण्डता र हितमा आघात पुग्ने अवस्था श्रृजना भएको छ। पार्टीलाई एकतावद्ध बनाउदै राष्ट्रिय हित र क्रान्तिका उपलब्धिहरू को रक्षा गर्न निम्न काम गर्न आवश्यक छ,’उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
‘२०७७ फागुन २३ को अदालतको निर्णयपछि भएका सबै खाले गुटगत निर्णयहरू खारेज गरि माहाधिबेशनले निर्वाचित गरेको केन्द्रिय कमिटी र निकायरु तथा आफ्नो अधिवेशन या प्रकृया बाट आएका जनसंगठन तथा मातहत कमिटी लाई स्थापित गर्ने,’उनले प्रस्तावमा भनेका छन्।
नेताहरूले अहंकार, घमण्ड, चरम महत्वकांक्षा, ईष्र्या, लघुताभास र इगो त्याग गरी पार्टीलाई एकतावद्ध बनाउदै परिवर्तनकारी शक्तिको रुपमा अगाडी बढाउन सहयोग गर्नुपर्ने उनको भनाई छ। उनले पार्टीलाई सामूहिक नेतृत्व, नीतिको मार्गदर्शन र बिधिको व्यवस्था अनुरुप संचालन गर्नुपर्ने पनि बताएका छन्।