धनगढी- सुदूरपश्चिममा कोभिड–१९ संक्रमणदर अपेक्षाकृतरूपमा कम हुन सकेको छैन। जिल्लामा निषेध आदेशअघि सुदूरपश्चिममा संक्रमणदर ३५ प्रतिशतको हाराहारीमा थियो। तर, निषेध आदेश जारी भएको ३९ दिन बितिसक्दासमेत अपेक्षाकृत रुपमा संक्रमणदर कम हुन सकेको छैन।
कोभिड–१९ को दोश्रो भेरियन्टले भयावहको अवस्था सिर्जना भएपछि प्रदेशका विभिन्न जिल्लामा वैशाख १६ गतेदेखि निषेध आदेश जारी गरिएको थियो।
निषेध आदेश जारी गर्नु एक दिन अगाडि सुदूरपश्चिममा एक हजार ६४१ नमुना परीक्षण गर्दा ४७९ जनामा संक्रमण देखिएको थियो, जुन संक्रमणदर २९.१८ प्रतिशत थियो। तर, निषेध आदेश जारी भएको ४१ दिन बढी हुँदा समेत संक्रमणदर करिब १३ प्रतिशत छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा आरटीपीसीआर र ऐन्टीजेन विधिबाट एक हजार ३९० नमुना परीक्षण गर्दा १७६ जनामा संक्रमण पुष्टि भएको छ, जुन संक्रमण दर १२.६६ प्रतिशत हो।
सुदूरपश्चिममा हालसम्म दुई लाख ३६ हजार ६१९ जनाको परीक्षण गर्दा ४१ हजार ३०२ जनामा संक्रमण पुष्टि भएको छ।
सुदूरपश्चिममा पछिल्लो समय कोरोना संक्रमणमुक्त हुने दर भने बढेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाभाइरस संक्रमणमुक्त हुने दर ८९.०६ प्रतिशत छ।
प्रदेशमा हालसम्म कुल संक्रमित ४१ हजार ३०२ रहेकोमा ३६ हजार ७८७ संक्रमणमुक्त भएका छन्।
सुदूरपश्चिममा मृत्यु दर एक प्रतिशत बढी छ। स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। योसँगै सुदूरपश्चिममा कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५३७ पुगेको छ।
सुदूरपश्चिममा सक्रिय संक्रमित ९.६३ प्रतिशत छ। प्रदेशका विभिन्न जिल्लामा कोरोनाका सक्रिय संक्रमित तीन हजार ९७८ छ।
सुदूरपश्चिमका कुल संक्रमितमध्ये ४.४२ प्रतिशतको सरकारी अस्पतालमा उपचार भइरहेको छ। प्रदेशका ९ जिल्लाका ११ सरकारी अस्पतालमा १७६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।