मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तेस्रो लहरको सामना गर्न बुटवल उपमहानगरले थाल्यो तयारी

तेस्रो लहरको सामना गर्न बुटवल उपमहानगरले थाल्यो तयारी

तेस्रो लहरमा बालबालिकालाई असर पर्न सक्ने भन्दै तयारीका लागि सरकारले पत्राचार गरेपछि बुटवल उपमहानगरले विशेषज्ञहरूसँग छलफल सुरु गरेको छ। 
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

बुटवल- तेस्रो लहरमा बालबालिकालाई असर पर्न सक्ने भन्दै तयारीका लागि सरकारले पत्राचार गरेपछि बुटवल उपमहानगरले विशेषज्ञहरूसँग छलफल सुरु गरेको छ। 

आउने लहरले बालबालिकालाई असर बढी गर्ने विश्वव्यापी रुपमा विज्ञहरूले बताएका छन्। यसका लागि बालबालिकाको उपचारलाई प्रभावकारी कसरी बनाउने भन्ने विषयमा तयारी गर्न बुटवल उपमहानगरले छलफल थालेको हो। 

बालरोग विशेषज्ञहरूसँग सम्भावित जोखिम न्यूनीकरण र विद्यमान जनशक्तिका बारेमा जानकारी सँगै सम्भावित तयारी कसरी गर्ने भन्नेबारेमा छलफल गरिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए।  

लुम्बिनी प्रादेशिक अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज (यूसीएमएस), क्रिमसन अस्पताल, देवदह मेडिकल कलेज, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका बालरोग विशेषज्ञ तथा प्रतिनिधिहरूसँग  छलफल भएको छ। 

सार्वजनिक, निजी तथा सामुदायिक अस्पतालहरूलाई तयारी अवस्थामा रहन आग्रह गर्नुका साथै तीनै तहका सरकारबाट आवश्यक सहयोगका बारेमा विज्ञहरूसँगै विशेष छलफल भएको प्रमुख सुवेदीले बताए। आम्दा अस्पताललाई मातृ र शिशु स्याहार केन्द्रका रुपमा विकास गर्ने गरी उपमहानगरले विभिन्न पक्षहरूको सहकार्यमा काम अगाडि बढाएको उनको भनाइ छ। 

विशेषज्ञहरूले आउने लहरले बालबालिकालाई नै लक्षित गरेर सताउने भन्ने वैज्ञानिक आधार नभए पनि खोपको पर्याप्तता नहुँदासम्म जुनसुकै उमेर समूहलाई पनि जोखिम कायमै रहेको बताएका थिए। 

विशेषज्ञहरू डा. राजु काफ्ले, डा.सन्तोष पोखरेल, डा. नेत्रबहादुर राना, डा. अजय श्रीवास्तव तथा डा. हीम श्रेष्ठलगायतका बालरोग विशेषज्ञहरूले पूर्वतयारीमा आफूहरू सतर्क र सजग भएर लागेको बताए। तर, साधन स्रोत र जनशक्तिको व्यवस्थापनमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ। 

बालरोगसँग सम्बन्धित विशेषज्ञहरूको सञ्जाल नेपाल पेडियाट्रिक सोसाइटीमार्फत् महामारीविरुद्ध बालबालिकालाई जोगाउने विषयमा विशेष पोट्रोकलसमेत तयार भएको छ। 

तत्कालै आत्तिइहाल्नुपर्ने अवस्था नरहे पनि सचेतना, सावधानी र पूर्वतयारी अत्यन्त जरुरी रहेको विशेषज्ञहरूको भनाइ छ। कोभिडका हालसम्मका लहरमा बालबालिका पनि संक्रमित भएका र उनीहरूमध्ये धेरैमा संक्रमणका लक्षण कम पाइएको र गम्भीर अवस्था पनि नभएको पाइएको विशेषज्ञहरूले बताएका छन्। 

बालबालिकामा एन्टीबडी र भाइरसँग जुध्ने क्षमता फरक खालको हुने भएकाले पनि संक्रमितले चाँडै परास्त गर्न सकेको पाइएको विशेषज्ञ डा. सन्तोष पोखरेलले बताए।  

उपमहानगरका स्वास्थ्य जनस्वास्थ्य अधिकृत उमादेवी थापाले हालसम्म उपमहानगरमा रहेका बालबालिकामा संक्रमण नदेखिएको र केही बालबालिकामा ज्वरो आउने समस्या देखिए पनि एक–दुई दिनमै ठीक भएको भन्दै रिपोर्ट आएको बताए।  

बुटवल उपमहानगरले बच्चाहरूको स्वास्थ्यलाई मध्यनजर गरी तयारी थालेको उपमहानगर उपप्रमुख गोमा आचार्यले बताइन्। उनले कोरोना महामारीको जोखिमबारे पूर्वतयारीमा ध्यान दिनुपर्ने बताउँदै यसमा निजी क्षेत्रबाट पनि सहयोगको अपेक्षा राखिन्।

प्रकाशित: Jun 07, 2021| 05:07 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।