जनकपुरधाम- प्रदेश २ को भौतीक पूर्वाधार मन्त्री पदबाट बर्खास्त भएका जितेन्द्र सोनल आफ्नो ३ वर्षे कार्यकालमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै मधेश भवनबाट विदा भएका छन्।
मन्त्रीहरूको क्वार्टर रहेको मधेश भवनबाट विदा हुनु अघि कर्मचारी, बुद्धिजीवि, मुख्यमन्त्री, मन्त्री, संचारकर्मी सबै पक्षले आफ्नो काममा गरेको रचनात्मक सहयोगको प्रशंसा गर्दै विदा भएका हुन्। सोनल एउउटा सुटकेशमा आफ्नो सामान प्याक गरेर मोटरसाइकलबाट बाहिरिएका थिए।
मन्त्री निवासबाट बाहिरिनु अघि उनले आफूलाई पार्टीले अन्य जिम्मेबारी नदिएसम्म प्रदेशमै रहेर जनता तथा पार्टीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले भने, ‘म मन्त्री रहुँ वा नरहुँ देश, प्रदेश र जनताको विकासमा केन्द्रित भएर काम गरिरहनेछु।’
आइतबार साँझ प्रदेश सरकारका मुख्यमन्त्री जसपाको ठाकुर पक्षका सोनल सहित ३ राज्य मन्त्रीलाई कार्यसम्पादन संतोषजनक नरहेको भन्दै बर्खास्त गरेका थिए।