सुर्खेत- राउटे समुदाय अर्थात् जंगली युगको ज्युँदो इतिहास, जो आज पनि जंगलमा फिरन्ते जीवनशैली बिताउँदै आएको छ। उसको आफ्नै धर्म र संस्कार छ। नियम र कानुन पनि आफ्नै छ।
यस्तो समुदाय जसलाई संघीय गणतन्त्र नेपालको संविधानले पनि छुँदैन। बरु उसँग आफ्नै अलिखित संविधान छ। अझै नेपालको संविधान भन्दा धेरै कठोर। जहाँ नियम र कानुनको उल्लंघन हुँदैन। परम्परादेखि मानिआएको कानुनको पालना हुन्छ।
राउटे समुदायको नियम र कानुनका विषयमा जानकारहरूका लागि आइतबारदेखि एउटा ठूलो चिन्ता थपिएको छ। आइतबार बिहानै राउटे समुदायका युवतीमाथि भएको यौन दुर्व्यवहारको घटनाले राउटे समुदायलाई नजिकबाट निकायलेकाहरू चिन्तित् छन्। किनकि घटनाको वास्तविकता राउटे समुदायका अन्य व्यक्तिले थाहा पाएको खण्डमा पीडित युवती जीवित रहने सम्भावना हुँदैन। ‘गलत गतिविधि गरेको अभियोगमा राउटेहरूले कडा सजाय दिन्छन्,’ राउटे समुदायका जानकार दैलेखका हिरासिंह थापा भन्छन्, ‘यौन दुर्व्यवहारको घटना थाहा पाएभने स्वीकार गर्दैनन्, भाला (घरेलु हतियार) रोपेर मारिहाल्छन्।’
लामो समयदेखि राउटे समुदायको संरक्षणमा सक्रिय थापाले सामाजिक सञ्जालमा भाइरल भएको भिडियो राउटे समुदायका व्यक्तिसम्म पुगे मृत्युदण्ड हुनसक्ने बताउँछन्। ‘राउटे समुदायमा हाम्रोभन्दा कडा कानुन छ, ठूलो गल्ती गर्नेलाई उनीहरू स्वीकार गर्दैनन्,’ उनी थप्छन्, ‘यही कारण पीडित युवतीहरू आफ्नै समुदायबाट झनै असुरक्षित भएका छन्।’ कसैगरी घटना राउटे मुखिया वा अन्य सदस्यसम्म पुगे समुदायले अस्वीकार गर्ने र पीडितहरू बाँच्ने आधार कमै रहने थापा बताउँछन्।
लामो समयदेखि राउटे समुदायको संरक्षणमा सक्रिय थापाले सामाजिक सञ्जालमा भाइरल भएको भिडियो राउटे समुदायका व्यक्तिसम्म पुगे मृत्युदण्ड हुनसक्ने बताउँछन्।
उनीहरूको नियमकानुन बझेकै कारण यौन दुर्व्यवहारको घटनाको विषय राउटे समुदायलाई जानकारी दिइएको छैन। घटना थाहा पाउन सक्ने भएकै कारण पीडितसँग बयान लिइएको छैन। स्वास्थ्य परीक्षण गर्न सक्ने अवस्था पनि छैन।
घटना बाहिरिएपछि बस्तीमा पुगेका जो–कोहीले पीडितबारेमा सोधीखोजी गर्दा पीडितहरू झन असुरक्षित बनेका छन्। सबैले युवतीहरूलाई किन सोध्ने भन्ने कुरा राउटेका मुखियाले चासोका रूपमा लिएका छन्। बरु यौन दुर्व्यवहारको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालबाट कसरी हटाउने उपाय खोजी रहेको उनले बताए। ‘जता हेर्यो त्यही भिडियो छ, कुनै न कुनै दिन त्यो भिडियो राउटेसम्म पुग्ने चिन्ता भयो,’ उनले भने, ‘एकैपटक सामाजिक सञ्जालका भिडियोहरू हटाउने उपाय भए खोजी रहेको छु।’
दुर्व्यवहारको घटना थाहा पाए कि भनेर बुझ्नकै लागि थापा आइतबार साँझ राउटे बस्तीमै पुगेका थिए। बस्तीमा पुगेर उनले मुखियाको मनोबल बुझे र अबेर राती बस्तीबाट वीरेन्द्रनगर फर्किए। ‘दोषीलाई कारबाही भन्दा पनि पीडितलाई कसरी बचाउने भन्ने चिन्ता लागेको छ,’ उनी दोहोर्याउँछन्, ‘यो घटना थाहा पाए राउटेहरूले नै स्वीकार गर्दैनन्, मारिहाल्छन्।’
गलत काम गर्नेलाई भाला रोपेर मार्ने, अस्वीकार गर्ने र बस्ती छोडेर जाने चलन राउटे समुदायमा छ। ‘सिकार खेल्न गएको व्यक्ति साँझ नफर्के त मरेको मान्छन्, यौन दुर्व्यवहार त ठूलो घटना भयो,’ उनले भने, ‘भिडियो देखे स्वीकार गर्दैनन्, सिध्याई हाल्छन्।’ पीडितहरू जोखिममा रहेको अर्को कारण यसअघि पनि उनीहरू कारबाहीमा परिसकेका व्यक्ति हुन्। केही समय पहिले उनीहरू नजरबन्दको सजाय पाएका थिए।
यस्तै दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराल वलीले घटना बाहिरिएपछि पीडितहरू थप असुरक्षित बनेको बताए। ‘राउटेहरूले गल्ती गर्नेलाई कठोर सजलाय दिइन्छ, हामीले भनेको मान्दैनन्,’ वलीले नेपाल समयसँग भने, ‘घटना राउटे समुदायमा पुग्यो भने पीडितहरू भौतिक रूपमै नरहन सक्छन्।’ फिरन्ते जीवन बिताउने भएपनि राउटे समुदाय गुराँस गाउँपालिका–८ का स्थायी बासिन्दाको रुपमा परिचयपत्र लिएका छन्।
गलत काम गर्नेलाई भाला रोपेर मार्ने, अस्वीकार गर्ने र बस्ती छोडेर जाने चलन रहेको छ।
भत्ता वितरणलाई सहज बनाउन गाउँपालिकाले परिचयपत्र समेत दिएको छ। जस कारण अध्यक्ष ओलीले राउटे समुदायको नियम कानुनलाई नजिकबाट बुझेका छन्। यौन दुर्व्यवहारको घटनाले पीडितहरू भौत्तिक रुपमै असुरक्षित बनेको वलीले बताए।
यस्तै राष्ट्रिय मानवअधिकार आयोगले पनि यौन दुर्व्यवहारमा परेका दुई युवतीको भौतिक सुरक्षाको माग गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता टीकाराम पोखरेलले युवतीलाई समुदायले अस्वीकार गर्न सक्ने भन्दै भौतिक सुरक्षा गर्न माग गरेको छन्। पीडितलाई राउटे समुदायले अस्वीकार गर्ने, ज्यान नै जोखिममा पर्ने भन्दै आयोगले भौतिक सुरक्षाको माग गरेको हो। आयोगले पनि युवतीहरूलाई चार महिना नजरबन्द राखिएको उल्लेख गरेको छ।
यसअघि पनि समुदायको नियम विपरीत अन्य समुदायसँग नजिक भएको भन्दै कारबाही गरिएको थियो। करिब चार महिना पीडित युवतीलाई नजरबन्द जस्तै सजाय दिइएको थियो। राउटे समुदायका महिलाहरू प्रायः अन्य समुदायका नागरिकसँग बोलचाल गर्दैनन्। उनीहरू श्रीमान र समुदायको डरका कारण बोल्न डराउँछन्।
दुवै पीडित युवतीहरू अविवाहित हुन्। राउटे समुदायमा प्रायः सानै उमेरमा विवाह गर्ने चलन छ। युवाको अभावका कारण उनीहरूको बिहे भएको छैन। दुर्व्यवहारमा परेका युवतीहरू अन्य समुदायका नागरिकसँग धेरै घुलमिल हुनेमा पर्दछन्। यसअघि नै पीडितहरू युट्युब, टिकटक र सामाजिक सञ्जालमा भाइरल भइसकेका छन्। फिरन्ते राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन्।