गलकोट- गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाले आफ्नो पद पुनः बहाली गराउने सर्वाेच्च अदालतको अन्तरिम आदेशले जनताको भावनाको कदर भएको बताएका छन्।
राष्ट्रिय जनमोर्चाबाट निर्वाचित बागलुङ क्षेत्र नम्बर १ (क) का सांसद थापालाई पार्टीको निर्देशन नमानेको भन्दै पदमुक्त गरिएको विरुद्धमा परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै पुनर्बहाली गराउन भनेपछि सांसद थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।
थापाले जनताको भावनामाथि अदालतले कदर गरेको भन्दै थप ससक्त भएर आफ्नो जिम्मेवारी पूरा गर्ने बताए। 'विपक्षी नेपाली कांग्रेसलाई सरकार बनाउन मेरै पार्टीले कारबाही गर्यो। जनताको भावनाविपरित जादिनँ भन्ने अडान कायमै थियो,' सांसद थापाले भने, 'अदालतले पुन: बहाली गरेको छ, मैले आफ्नो अडान फेरि पनि छोड्दिनँ, अब पनि कांग्रेसको गठबन्धनलाई सहयोग गर्दिनँ।'
थापाले आफ्नो क्षेत्रमा विकास निर्माणले गति लिएकोमा सांसद पद जाँदा जनातामा निराशा छाएको भन्दै विकासका बाँकी काम पुरा हुनेमा आशावादी भएको बताए। उनले पार्टीले समेत कारबाही फुकुवा गर्ने आशा व्यक्त गरे।
'जनमोर्चा अझै हिमालको डाँफेको जस्तै छाती भएको पार्टी हो भन्ने लाग्छ, फिस्टे चराको जस्तो छाती हुनु हुँदैन,' थापाले भने। उनले कम्युनिस्टहरु मिल्नुको विकल्प नभएको उल्लेख गरे। -रासस