काठमाडौं- विभिन्न जिल्लामा लागू गरिएको निषेध आदेश कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेध आदेश उल्लंघन गर्ने ३ हजार ५७८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तीमध्ये १ हजार २५ वटा गाडी र २ हजार ५५३ वटा मोटरसाइकल छन्। नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछपश्चात् छोड्ने गरिएको छ।
साथै नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाइँको मास्क खोई?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ६५५ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ। कार्यक्रमअन्तर्गत हालसम्म जम्मा ४ लाख ५२ हजार ८७४ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेध आदेश उल्लंघन गर्ने ६१० जनालाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६१ हजार ४०० रुपैयाँ जरिवाना गरिएको छ।
सो क्रममा ३ हजार ६३५ जनालाई रोकी सम्झाईबुझाई छाडिएको छ। साथै देशभर सञ्चालित ८५ वटा माईकिङ, प्लाकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रमअन्तर्गत ५ हजार ४८९ जनालाई सचेत गराइएको छ।
निषेध आदेश कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिव्रता दिएको प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा जनाइएको छ।