काठमाडौं– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा भोलि सोमबारका लागि हेर्दाहेर्दैमा गएको छ। आजको बहसपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।
संवैधानिक इजलासको आजको सुनुवाइमा इजलासमा रहेका न्यायाधीश रहन हुने कि नहुने भन्ने विषयमा बहस भएको थियो। बहसमा महान्यायाधिवक्ता रमेश बडाल, सरकारी वकिल र प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट आएका कानुन व्यवसायीले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छोड्नुपर्ने जिकिर गरेका थिए।
प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर सर्वोच्च गएका शेरबहादुर देउवासहित १४६ सांसदलगायत कानुन व्यवसायीले भने वरिष्ठताका आधारमा इजलास गठन गरिएकाले अब इजलासबारे नभई रिट निवेदनमाथि बहस हुनुपर्ने माग गरेका थिए।
संवैधानिक इजलासमा न्यायाधीश रहने वा नरहने भन्नेबारे दिनभर बहस भए पनि आदेश भने आएन। आजको बहस मूल मुद्दामा प्रवेशै नगरी सकिएको हो।