विराटनगर- प्रदेश १ मा ७० हजारलाई कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाइने भएको छ। जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाइने भएको हो।
६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाउने गरी १४ वटै जिल्लामा खोप पठाउने काम भइरहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु शाहले जानकारी दिए। उनका अनुसार सोमबारसम्म प्रदेश १ का सबै जिल्लामा खोप पुगिसक्ने छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ मा दुवै मात्राका लागि १ लाख ४० हजार ५०५ डोज खोप पठाएको छ। प्रदेश स्वास्थ्य आपूर्तिमा आएको खोपलाई जिल्ला-जिल्लामा पठाउने काम भइरहेको उनले बताए।
शाहका अनुसार ताप्लेजुङमा ३ हजार ७०३, संखुवासभामा ४ हजार ४००, सोलुखुम्वुमा २ हजार ८८५, ओखलढुङ्गामा ४ हजार २९१, खोटाङमा ४ हजार ८४८, भोजपुर ४ हजार ३४७, धनकुटामा ४ हजार ८५३, तेह्रथुममा २ हजार ८४६, पाँचथरमा ५ हजार ५८१, इलाममा ८ हजार ८६२, झापामा २६ हाजर ४१९, मोरङमा ३१ हजार १८५, सुनसरीमा २६ हजार १३२ र उदयपुरमा १० हजार १५१ डोज खोप पठाउने काम भइरहेको छ। उनले दुवै डोजका लागि खोप पठाइएको जानकारी दिए।
कोभिड १९ विरुद्धको भेरोसेल खोप सरकारले निर्धारण गरेको मापदण्डअनुसारका व्यक्तिहरुलाई मात्र लगाउन सामाजिक विकास मन्त्री उषाकला राईले निर्देशन दिएकी छन्। उनले सबै नागरिकलाई चाँडोभन्दा चाँडो कोभिड १९ विरुद्धको खोप लगाउन सरकार लागिपरेको बताइन्।
विश्व स्वास्थ्य संगठनले भेरोसेल १८ वर्षमाथि जुनसुकै उमेर समूहले लगाउन मिल्ने भनेपछि पहिलो चरणमा प्राप्त खोप ६०–६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई मात्र लगाउन सरकारले मापदण्ड बनाएकाले सोहीअनुसार गर्न भनिएको उनले बताइन्।