काठमाडौं– एमालेको माधवकुमार नेपाल समूहले सरकारले आयोडिनयुक्त नुन आपूर्तिको काम नाफाखोर व्यापारीलाई सम्पेर जनहितविपिरीत काम गरेको भन्दै आपत्ति जनाएको छ। उक्त समूहको स्थायी कमिटी बैठकले गलत निर्णय तत्काल फिर्ता लिन पनि सरकारसँग माग गरेको छ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, सबैका लागि नभइ नहुने आयोडिनयुक्त नून अति विपन्नजनताले समेत उपभोग गर्न पाऊन् भन्नका लागि ढुवानीमा सरकारी अनुदा समेत दिई आपूर्तिको व्यवस्था भइरहेकोमा हठात् अध्यादेशद्वारा बजेट वक्तव्यमार्फत आफू निकट नाफाखोर व्यापारीको हातमा नून आपूर्तिको काम सुम्पेर जनताको हित विपरीत गरिएको सरकारी निर्णयको विरोध गर्दै यस्तो गलत निर्णय तत्काल खारेज गर्न हामी माग गर्दछौं।’
अहिले सरकारी स्वामित्वकाे साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत नुन आपूर्ति हुँदै आएको छ। आगामी बजेटमा आयोडिनयुक्त नुन कारोबारमा निजी क्षेत्रलाई सहभागी गराइने उल्लेख छ। ‘आयोडिनयुक्त नुन आपूर्ति सर्वसुलभ, गुणस्तरीय एवम् न्यून मूल्यमा उपलब्ध गराउन निजी क्षेत्रको सहभागितामा नुन उत्पादन तथा वितरण प्रतिस्पर्धी बनाइनेछ,’ बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पाैडेलले भनेका थिए।