विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनको मिति तोकिसकेपछि सरकार विस्तार गर्नु संविधानको बर्खिलाप भएको बताएका छन्।
विराटनगरस्थित कोइराला निवासमा आइतबार संचारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले आचारसंहिता लागिसकेको अवस्थामा सरकार विस्तार हुनु गलत भएको बताए।
संसद् विघटनको मुद्दा विचाराधीन रहेका भन्दै नेता कोइरालाले भने, ‘आफूलाई जोगाउनका लागि मात्र ओलीले सरकार विस्तार गरेका हुन् या निर्वाचन नगर्नको लागि प्रष्ट भएन।’ संसद् पुनस्र्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री भए पनि त्यो सरकारले पनि निर्वाचन नै गर्ने उनले बताए।
नेता कोइरालाले नेपाल कुनै पनि हालतमा बहुराष्ट्रिय देश हुन नसक्ने बताए। नेपाल बहुजातीय, बहुभाषी, बहुसांस्कृतिक देश हो भन्दै उनले उपप्रधानमन्त्रीको हैसियतमा राजेन्द्र महतोले दिएको अभिव्यक्ति विवादास्पद र स्वीकार गर्नै नसकिने रहेको बताए।
ओलीले सत्ताकब्जाको अभ्यास गरिरहेको भन्दै कोइरालाले कोरोना वा अन्य कारणले चुनाव गराउन नसक्ने अनि सत्ता टिकाउन कम्बोडियन मोडलमा जान खोजेको आरोप लगाए।